काठमाण्डौ । सरकारले वर्षमा १ सय जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावरको नवीकरण सुरु गरेको छ । वैदेशिक रोजगार विभागले वार्षिक सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको नवीकरण सुरु गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार मंगलबारबाट नवीकरण सुरु गरिएको हो ।
२०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै सरकारले दुई वर्षसम्म लगातार वार्षिक १ सय जना कामदार नपठाउने म्यानपावर कम्पनीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था गेको थियो । तर, केही समय अघि सरकारले केही नेपाल ऐन संशोधन गर्दै उक्त प्रावधान हटाएको थियो ।
१ सय जना कामदार पठाउन नसक्ने म्यानपावरको इजाजत खारेज गर्ने प्रावधान हटेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्ता म्यानपावरको इजाजात नवीकरण गर्न विभागलाई पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको हो ।
नवीकरणका लागि म्यानपावरले अनलाइनमार्फत समेत निवेदन दिन सक्ने छन् ।
अर्थ चाैतारी ।