काठमाण्डौ । १७औँ नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। यही भदौ ८ गतेसम्म आयोजना सवारी मेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। यस पटकको अटो शोको प्रमुख आकर्षणमा दिपल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट रहेका छन्। शो सुरु भएकै दिन अवलोकनकर्ताको झुकाव अन्य सवारी साधनभन्दा पनि उड्ने कारप्रति बढी देखिन्छ। यो नेपालमा भित्रिएको पहिलो उड्ने कार हो।
यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अभावलाई पूर्ति गरेको छ। फिल्म, युट्युबमा देख्दै आएको उड्ने कार भृकुटीमण्डपको चौरमा छ। आफ्नै आँखाअघि। अटो शो हेर्न आउनेहरूको मुख्य चासो सवारीप्रति धेरै हुने भए पनि शोमा उड्ने कारबाट नजर हटाएर अन्यन्त्र आँखा दौडाउने अवलोकनकर्ता पाउन मुस्किल छ। नाडा अटो शो हेर्न आउने अधिकतम अवलोकनकर्ता उड्ने कारले आकर्षित गरेको हो। कार उड्ने र गुड्ने दुवै प्रकारमा डिजाइन गरिएको छ। दुवै उत्तरी नाकामा बाढी र पहिरोका कारण नेपालको भूमि प्रवेश गर्न कारले आफ्नो दुवै क्षमता प्रस्तुत गर्न पाएन।
राणाकालीन समयमा जसरी नेपालमा गाडी भित्र्याइएको थियो। हाल उड्ने कार पनि सोही शैलीमा भरियाको काँधमा बसेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिएको हो। राणाकालीन समयको र हालको तस्वीर सामाजिक सञ्जालमा भाइरल भए। साथै यस वर्ष एक साताको फरकमा दुई वटा अटो शो आयोजना भएको छ। यस्तोमा अघिल्लो अटो शो भन्दा भिन्न र उत्कृट रुपमा प्रस्तुत हुन ५० वर्ष पुरानो संस्थाले नयाँ प्रयोग गरेको हो। नाडाको स्थापनमा २०३२ सालमा भएको हो।
अटो शो भने सन् १९९८ देखि आयोजना हुन थालेको हो। यस अवधिमा २०२० मा कोभिड–१९ प्रकोपका कारण अटो शो आयोजना हुन सकेन। हालसम्म २६ पटक अटो शो आयोजना भइसकेको छ।






अर्थ चाैतारी ।