काठमाण्डौ । सरकारले पहिरोले अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड तत्काल मर्मत गरी खुलाउने भएको छ। गत भदौ ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको यो राजमार्गको मर्मत शुक्रबारदेखि सुरु गरी एक साताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक विभागले जनाएको छ।
सडक अवरुद्ध हुँदा तातोपानी नाका ठप्प भएको छ, जसले गर्दा चाडपर्वका लागि ल्याइएका १५ सयभन्दा बढी कन्टेनरहरू चीनतर्फ रोकिएका छन्। केही व्यवसायीले भने भरियामार्फत सामान ल्याइरहेका छन्। गत साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा ‘इको पहिरो’ खसेर सडक अवरुद्ध भएको थियो। सडक डिभिजन चरिकोटले मर्मत गरी भदौ ५ गते एकतर्फी सडक सञ्चालनमा ल्याए पनि तीन दिनपछि फेरि पूर्ण रूपमा बन्द भयो। लगातारको वर्षा र लेदो खस्दा मर्मत कार्यमा कठिनाइ भएको थियो।
यसैबिच, नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल राजमार्ग खुलाउन निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनपछि महानिर्देशक विजय जैसीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ।
स्थानीयसँग सहमति र मर्मतको तयारी
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सुपरीटेन्डेन इन्जिनियर सुभराज न्यौपानेका अनुसार विभागको टोलीले स्थानीयसँग छलफल गरी मर्मत अघि बढाउने निष्कर्ष निकालेको छ। यसअघि बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले मर्मतमा अवरोध गरिरहेका थिए।
_u0c7sK8esR.png)

तर, अहिले बस्ती जोगाएर मर्मत गर्ने सहमति भएको छ। इन्जिनियर न्यौपानेले भने, “भोलिदेखि मर्मत सुरु हुन्छ, बस्तीलाई जोगाएर काम गर्छौँ।” सडक सञ्चालनमा आएपछि रोकिएका कन्टेनर ल्याउन सहज हुने र दसैँअघि नै बाटो खुल्ने दाबी उनले गरेका छन्।
राजमार्गका पाँच ठूला क्षति
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार अरनिको राजमार्गका पाँच स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ।
वर्ष दिनमा १४ पटक अवरुद्ध
वैशाख यता कोदारी खण्डमा पहिरोका कारण यो राजमार्ग १४ पटक अवरुद्ध भइसकेको छ। पहिलो पटक वैशाख ३० गते पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसपछि लगातारको वर्षाले सडक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ।
नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी असार २४ गतेको बाढीले बन्द भएपछि तातोपानी नाकाबाट सामान आयात हुन थालेको थियो। तर, अरनिको राजमार्गको यो अवरोधले उक्त नाका पनि ठप्प भएको छ। अहिले भने कोरला नाका हुँदै वस्तु आयात भइरहेको छ।
अर्थ चाैतारी ।