logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • ​विश्व मस्तिष्कघात दिवसः ग्राण्डीमा अन्तरक्र्रिया तथा सचेतनामूलक हाजिरीजवाफ सम्पन्न

    ​विश्व मस्तिष्कघात दिवसः ग्राण्डीमा अन्तरक्र्रिया तथा सचेतनामूलक हाजिरीजवाफ सम्पन्न

    1.4K
    SHARES
    ​विश्व मस्तिष्कघात दिवसः ग्राण्डीमा अन्तरक्र्रिया तथा सचेतनामूलक हाजिरीजवाफ सम्पन्न

    काठमाण्डौ ।  अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ बुधबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघात सम्बन्धी अन्तक्र्रिया तथा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले सहभागीता जनाएका थिए । प्रतियोेगितामा मस्तिष्कघात सचेतनासम्बन्धी विभिन्न खालका प्रश्नहरु सोधिएको थियो ।



     

    ग्राण्डी अस्पतालले मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेवापत भर्खरै विश्व स्ट्रोक सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता समेत प्राप्त गरेको छ । ग्राण्डी अस्पताल ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो । नेपालमा प्रत्येक १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ । नेपाल मस्तिष्कघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।

     

    नेपाल मस्तिष्कघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेलले नेपालमा प्रत्येक १० मीनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताए । “एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै मस्तिष्कघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ,”– डा पौडेलले भने।

     

     

    नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात (मस्तिष्कघात) सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा पौडेलले मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउनुभयो । उक्त सङ्घले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितीमा ‘हिमालय अन्तर्र्राष्ट्रिय मस्तिष्कघात सम्मेलन’ समेत आयोजना गरेको थियो ।

     

    उक्त सङ्घले जर्मनीको हैदेलवर्ग युनिभर्सिटीको सहयोगमा नेपाल मस्तिष्कघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । यस्तै, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको मस्तिष्कघात सम्बन्धी गाईडलाइन तय गर्ने काम गरेको डा पौडेलले बताए । सङ्घले मस्तिष्कघात सम्बन्धी निर्देशिका निर्माण गरी सरकारलाई समेत बुझाइसकेको छ । यस्तै, देशभरका अस्पतालको मस्तिष्कघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम समेत सङ्घले गरेको छ ।

     

    डा. पौडेलले मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। “विश्वमा हरेक चारजनामा एक जनालाई र तीन सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ”,– उनले भने । विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा. पौडेल बताउनुहुन्छ । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुर्नजीवन पाएका छन् ।

     

    नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनको भनाई छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क रहेको डा पौडेलले बताए। ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले मस्तिष्कघात उपचारमा ग्राण्डी अस्पताल नेपालकै पहिलो अस्पतालको रुपमा विश्वस्तरिय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको गुणस्तर कायम राखिराख्ने प्रतिवद्धता व्यक्त गए । उनले मस्तिष्कघात उपचारमा विश्व स्तरिय सुविधा नेपालमै प्राप्त गर्नु ग्राण्डी र आम विरामीका लागि गौरवको विषय भएको उल्लेख गरे ।


    अर्थ चौतारी
  • विहिबार, १३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट