दाङ । बजारमा अदुवाको मूल्य एक्कासि घटेपछि दाङका किसानहरू ठूलो मारमा परेका छन्। तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटका किसान विकास खड्काका बारीमा यस वर्ष करिब ५० क्विन्टल अदुवा फलाएको छ। तर, बजार भाउ घटेकाले उनले अझै अदुवा खनेका छैनन्।
गत वर्ष प्रतिकिलो रु ५५ देखि ६० मा अदुवा बिक्री गर्न सफल भएका खड्का अहिलेको रु ३० देखि ३५ प्रतिकिलो मूल्यले निकै निराश छन्। “यो वर्ष त लगानी पनि उठ्दैन,” उनले भने, “बजार भाउ नपाउँदा बारीको अदुवा खन्ने मनै छैन।”
उनीसँगै छिल्लीकोटकै पलबहादुर खड्का पनि समान समस्यामा छन्। गत वर्षको राम्रो मूल्य देखेर उनले रु ५० हजारको अदुवा बीउ किनेर खेती गरेका थिए, तर अहिले भाउ खस्किँदा सावाँब्याज मिलाएर ऋण रु ६५ हजार पुगेको छ।
“अहिलेको मूल्यमा बेच्दा ऋण तिर्न पनि पुग्दैन,” उनले दुःख व्यक्त गरे।
किसानहरूका अनुसार भारतबाट सस्तो अदुवा आयात भएपछि स्थानीय अदुवाको माग घटेको छ। यसले गर्दा बजारमा मूल्य गिरावट आएको हो।
स्थानीय किसान पूर्णबहादुर पुनका अनुसार पहाडी क्षेत्रमा अदुवा खेती लोकप्रिय बन्दै गएको छ, किनभने यसले जंगली जनावरले क्षति गर्दैन र राम्रो आम्दानी दिन्थ्यो। “तर अहिले भाउ नपाउँदा धेरै किसान निराश भएका छन्,” उनले भने।
छिल्लीकोट क्षेत्रमा अहिले करिब ३०–३५ घरधुरीले अदुवा खेती गर्ने गरेका छन्। सो क्षेत्रबाट वार्षिक ६०० क्विन्टलभन्दा बढी अदुवा उत्पादन र बिक्री हुने गर्छ। किसानहरूले अदुवाको बजार व्यवस्थापन र मूल्य स्थिरताका लागि स्थानीय सरकारको प्रभावकारी हस्तक्षेपको अपेक्षा गरेका छन्।
अर्थ चौतारी ।