काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुकमा समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीको दृढ नेतृत्वमा मुलुक निर्वाचनतर्फ अघि बढेको र चुनावको मिति सुनिश्चित भइसकेको समेत बताए । यसले मुलुकमा राजनीतिक स्थायित्व ल्याउने उनको विश्वास थियो। साथै, विगत २० वर्षको इतिहासमा पहिलोपटक भ्रष्टाचारका यति धेरै ठुला मुद्दाहरू अदालत पुगेको र सरकारी निकायहरू स्वतन्त्र रूपमा काम गरिरहेको उनले दाबी गरे ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोर्नुपरेको झन्डै ८४ अर्ब रुपैयाँ बराबरको क्षतिको स्मरण गर्दै मन्त्री खरेलले सरकार यसप्रति निकै संवेदनशील रहेको बताए । ‘निजी क्षेत्रको सम्पत्ति जल्दा सिङ्गो नेपालीको मन रोएको छ,’ उनले भने, ‘तपाईंहरूको मनोबल गिर्न नदिन र व्यावसायिक सुरक्षा प्रत्याभूत गर्न सरकार सधैँ साथमा छ।’
मन्त्री खरेलले निजी क्षेत्रको सुरक्षाका लागि उद्योग, व्यापार र व्यवसायका लागि वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता जनाउन आवश्यक रहेको बताए । उनले भने- ‘अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र सुरक्षित नभएसम्म मुलुक अघि बढ्न सक्दैन । संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्थाको कुरा गरिए पनि निजी क्षेत्रलाई नजरअन्दाज गरेर त्यो लक्ष्य प्राप्त गर्न सकिँदैन।’
मन्त्री खरेलले सरकार निजी क्षेत्रसँगै रहेको र लगानीमैत्री वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।
अर्थ चौतारी ।