logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • आयल निगम आर्थिक रूपमा सबल बनेको छ : कार्यकारी निर्देशक भट्ट

    आयल निगम आर्थिक रूपमा सबल बनेको छ : कार्यकारी निर्देशक भट्ट

    1.2K
    SHARES
    आयल निगम आर्थिक रूपमा सबल बनेको छ : कार्यकारी निर्देशक भट्ट

    काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले निगम आर्थिक रूपमा सबल र सुदृढ संस्थाको रूपमा स्थापित भएको बताएका छन् । निगमको ५६औँ वार्षिकोत्सव समारोहमा बोल्दै डा।. भट्टले स्वचालित मूल्य प्रणाली र पूर्वाधार विकासले निगमलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरे ।



    कार्यकारी निर्देशक भट्टले गत आर्थिक वर्षमा निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको कारोबार गरेको जानकारी दिए । त्यस अवधिमा निगमले १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको र राज्यको ढुकुटीमा निगमले एकै वर्षमा १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको उनले बताए ।

    ‘निगमको इतिहासमा सबैभन्दा ठुलो पोलिसी डिपार्चर २०७१ सालमा लागू गरिएको स्वचालित मूल्य प्रणाली हो,’ भट्टले भने, ‘जसका कारण आज निगम आर्थिक रूपमा सबल बनेको छ र विगतका सङ्कटहरू पार लगाउन सफल भएको छ ।’ तर अमलेखगन्ज बाहेक निगमका अन्य पूर्वाधार जीर्ण र जोखिमयुक्त रहेको बताए । साथै पछिल्लो समय पूर्वाधारको निरन्तर पुनर्निर्माणलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।

    यस्तै, भट्टले मोतिहारी (अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले महत्त्वपूर्ण योगदान गरेको बताए । पाइपलाइन सञ्चालन र अमलेखगन्जमा १७ हजार किलो लिटरको भण्डारण गृह निर्माणले उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन उपलब्ध गराउन सकिएको उनले स्पष्ट पारे । उनले थप उपलब्धिहरूमा सिलिगुढी–चारआली (५० कि.मी.) र अमलेखगन्ज–लोथर (६२ कि.मी.) पाइपलाइन विस्तारको काम अघि बढेको बताए ।

    यस्तै, चारआलीमा १८ हजार २०० किलोलिटर र चितवनको लोथरमा ९१ हजार ८०० किलोलिटर क्षमताको भण्डारण गृह निर्माण सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार ६०० किलोलिटर क्षमताको हवाई इन्धन डिपो निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ ।

    यस्तै हालसम्म डिपो नभएको कर्णाली प्रदेशमा नयाँ डिपो निर्माण कार्य सुरु गरिएको छ । उपभोक्ताले सही परिमाणमा तेल पाउने सुनिश्चितता गर्न निगमले प्रविधिको उच्च प्रयोग गरेको डा.भट्टले बताए । अमलेखगन्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरिएको र विराटनगरमा जडानको क्रममा रहेको उनले जानकारी दिए ।

    ‘अब व्यवसायीले कोठामा बसेरै आफ्नो ट्याङ्कीमा कति तेल भरियो भनेर मोबाइलबाटै हेर्न सक्छन्,’ भट्टले भने, ‘निगमले कम तेल दियो भन्ने वर्षौंदेखिको आरोप अब अन्त्य भएको छ।’ साथै, ईआरपी सिस्टम लागू गरी मोबाइलबाटै अर्डर र भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । कार्यकारी निर्देशक भट्टले निगम अब परम्परागत इन्धनबाट हरित ऊर्जातर्फ अघि बढ्नुपर्ने बताए । उनले मन्त्रिपरिषद्बाट पेट्रोलमा इथानोल मिश्रण गर्ने आदेश–२०८२ स्वीकृत भइसकेकाले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

    साथै, सन् २०४५ सम्म ‘नेट जिरो कार्बन’ को लक्ष्य भेटाउन काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा ‘हरित हाइड्रोजन’ को अनुसन्धान र व्यवसायीकरणमा निगम जुटिसकेको उनले बताए । दैलेखमा प्राकृतिक ग्यास उत्खनन र सीएनजी–एलएनजीको नियमनमा पनि निगमले नेतृत्वदायी भूमिका खेल्ने उनको भनाइ थियो ।

    विगतमा मिनरल वाटरको बोतलमा पेट्रोल बेच्नुपर्ने दुर्गम जिल्लाहरूको बाध्यता हटाउन निगमले विशेष पहल गरेको छ । भट्टका अनुसार निगमले आह्वान गरेको सूचना अनुसार दुर्गम क्षेत्रमा ३७ वटा नयाँ पेट्रोल पम्पहरू स्थापना हुने क्रममा रहेका छन् ।

    समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार झा, सचिव डा. रामप्रसाद घिमिरे र मधुसूदन बुर्लाकोटी लगायतको उपस्थिति थियो । सोही अवसरमा बबरमहलस्थित अत्याधुनिक कर्पोरेट भवनको समेत उद्घाटन गरिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट