logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने

    वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने

    1.4K
    SHARES
    वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने

    काठमाण्डौ । सरकारले वित्तीय क्षेत्रको सुपरिवेक्षण आगामी ५ वर्षमा प्रविधिमा आधारित बनाउने भएको छ । सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति मार्फत सुपरिवेक्षणलाई प्रविधिमा आधारित बनाउने घोषणा गरेको हो ।



    सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिलाई चालु आर्थिक वर्ष २०८२/८३–२०८६/८७ लागु गर्दै आगामी ५ वर्षका लागि वित्तीय क्षेत्र विकासका लाग गरिने कार्य सार्वजनिक गरेको हो । त्यसका लागि सरकारले दुई वटा समिति गठन गरेको छ ।

    रणनीति अनुसार अर्थमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय वित्तीय क्षेत्र सुधार निर्देशक समिति गठन गरिएको छ । त्यसैगरी राजस्व सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समिति र कार्यान्वयन समिति पनि गठन गर्ने रणनीतिमा उल्लेख छ ।

    तर, कार्यान्वयन समिति भने सम्बन्धित क्षेत्रको नियामक निकाय प्रमुखको संयोजकत्वमा निजी क्षेत्रको सहभागितामा गठन गर्नुपर्ने छ । यो रणनीतिले बैंकिङ, धितोपत्र बजार, बीमा, गैरबैंकिङ संस्था र सहकारी क्षेत्र सम्बोधन गर्छ । उल्लिखित क्षेत्र विकासका रणनीतिक स्तम्भ ६ वटा तय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    सोही अनुसार दिगो र समावेशी आर्थिक विकास, वित्तीय पहुँच तथा समावेशीकरण, वित्तीय साक्षरता तथा ग्राहक संरक्षण, वित्तीय क्षेत्र सुदृढीकरण तथा वित्तीय स्थायित्व, वित्तीय पूर्वाधार र क्षमता विकास गरेर स्तम्भ तय गरिएको रणनीतिमा उल्लेख छ ।

    रणनीति अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई वित्तीय प्रविधि, वित्तीय साइबर सुरक्षा, सम्पत्ति शुद्धीकरण निवारण र अन्तर्राष्ट्रिय वित्तीय मापदण्ड अनुरूप प्रावधान सुपरिवेक्षण गर्न सक्ने गरी नियामकीय क्षमता अभिवृद्धि गरिने छ ।

    त्यसका लागि वित्तीय क्षेत्र नियमन गर्ने कानुन तथा नीतिलाई समयसापेक्ष बनाउने र अन्तर्राष्ट्रिय मापदण्डसँग सामन्जस्य कायम गरिने रणनीतिमा उल्लेख छ ।

    वित्तीय क्षेत्रमा प्रविधि प्रयोग बढाउन सुरक्षित र सुदृढ डिजिटल भुक्तानी प्रणाली, क्रेडिट इन्फर्मेसन ब्युरो र अन्य वित्तीय सूचना प्रणाली विकास गरिने रणनीति सरकारको छ ।

    पूँजीबजार विविधीकरण, समावेशिता र दक्षता अभिवृद्धि गर्ने आधुनिक व्यापार प्रणाली, राफसाफ प्रणाली र भण्डारण प्रणाली विकास गर्ने समेत रणनीतिको कार्यनीति छ ।

    त्यसैगरी नियामक निकायले सम्बन्धित क्षेत्रसँग सम्बन्धित आवश्यक जनशक्तिको नियमित प्रक्षेपण गर्ने प्रणाली विकास गर्ने योजना रणनीतिको छ । वित्तीय क्षेत्रमा कार्यरत जनशक्तिलाई नियमित बैंकिङ, बीमा, पूँजीबजार, जोखिम व्यवस्थापन, डिजिटल वित्तीय सेवा, साइबर सुरक्षाजस्ता विषयमा अद्यावधिक तालिम र शिक्षा प्रदान गर्ने नीतिगत व्यवस्था गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

    विभिन्न वित्तीय क्षेत्रका लागि आवश्यक लगानी विश्लेषक, जोखिम प्रबन्धक, एक्चुअरी, वित्तीय कानुनविद जस्ता विशेषज्ञ जनशक्ति विकास गर्न छात्रवृत्ति र विशेष कार्यक्रम सञ्चालन गरिने रणनीतिमा उल्लेख छ ।

    विकास रणनीति कार्यान्वयनबाट कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान २०८१/८२ मा ६.६५ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भई २०८६/८७ मा ७.५ प्रतिशत पुग्ने लक्ष्य रणनीतिको छ ।

    त्यसैगरी बैंकहरूबाट प्रवाहित कृषि कर्जा कुल कर्जाको १२.८४ प्रतिशत रहेकोमा उक्त अवधिमा १५ प्रतिशत पुग्ने छ । त्यसैगरी मोबाइल बैंकिङ, इन्टरनेट बंैकिङ, वालेट, क्यूआर लगायत प्रयोग मार्फत विद्युतीय कारोबार संख्या ३ गुणाले वृद्धि भएको हुने दाबी रणनीतिको छ ।

    त्यस्तै वित्तीय पहुँच सम्बन्धी सूचक विकास भई वार्षिक प्रकाशन भएको हुने, ग्रिन बन्डजस्ता विशिष्टिकृत बन्ड जारी भई वित्तीय स्रोत संकलन भएको हुने लक्ष्य रणनीतिको छ ।

    विद्युतीय भुक्तानीका लागि यूएसएसडी पेमेन्ट प्रविधि प्रयोग भई कार्यान्वयनमा आउने लक्ष्य रणनीतिको छ । त्यसैगरी सरकारले सोही अवधिमा कुल जनसंख्याको ६० प्रतिशतमा बीमा पहुँच पुर्‍याउने जनाएको छ ।

    बचत तथा ऋण सहकारी संस्था नियमन तथा सुपरिवेक्षण संयन्त्र विकास गर्ने अर्थ मन्त्रालयको भनाइ छ । नयाँ वित्तीय उपकरणका रूपमा इक्विटी डेरिभेटिभ्स, इन्डेक्स फन्ड र ईटीएफजस्ता उपकरण पूँजीबजार प्रवेश भएको हुनेछ । सोही अवधिसम्म वस्तु विनिमय बजार सञ्चालनमा समेत आएको हुनेछ ।

    रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सम्बद्ध नियामक निकायबाट दुई महिनाभित्र कार्ययोजना तयार गरी कार्यान्वयन सुरु हुनेछ ।

    उक्त कार्ययोजनामा रणनीति, कार्यसमय सीमा, कार्यान्वयन निकाय, प्राथमिकता तथा प्रमुख कार्यसम्पादन सूचक समेत समावेश गरिने अर्थ मन्त्रालयले जनाएको छ । कार्ययोजनामा कार्यान्वयन गर्ने गराउने जिम्मेवार निकाय समेत तोकिने रणनीतिमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • शनिबार, १७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट