काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी र विकास सहायताका विविध आयामबारे महत्वपूर्ण छलफल भएको छ ।
करिब २० मिनेट चलेको उक्त संक्षिप्त तर अर्थपूर्ण भेटमा दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटवार्तामा विशेष दूत गोरले नेपालको आर्थिक विकास र स्थायित्वका लागि अमेरिकी सरकारले पुर्याउँदै आएको सहयोग जारी रहने प्रतिबद्धता जनाए ।
सो क्रममा अर्थमन्त्री डा। वाग्लेले नेपालको विकास प्राथमिकता र वर्तमान आर्थिक सुधारका प्रयासहरूबारे अमेरिकी टोलीलाई जानकारी गराएका थिए । उनले नेपालको पूर्वाधार विकास, वैदेशिक लगानी आकर्षण र दिगो आर्थिक वृद्धिका लागि अमेरिकी सहयोगको सान्दर्भिकता औंल्याए ।
भेटमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरू र अमेरिकी राजदूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । गोर बिहीबार काठमाण्डौ आइपुगेका हुन् । उनी भारतका लागि राजदूत पनि हुन् ।
अर्थ चाैतारी ।