logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • झनै बढ्यो मूल्यवृद्धि, पुसमा २.४२ प्रतिशत पुग्यो

    झनै बढ्यो मूल्यवृद्धि, पुसमा २.४२ प्रतिशत पुग्यो

    1.6K
    SHARES
    झनै बढ्यो मूल्यवृद्धि, पुसमा २.४२ प्रतिशत पुग्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको पुगेको छ । मंसिरदेखि बढ्न थालेर १.६६ प्रतिशत पुगेका मुद्रास्फीति दर पुस मसान्तमा थप बढेको हो ।



    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहन्तर्गत फलफूल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

    त्यस्तै, गैर–खाद्य तथा सेवा समूहन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.७५ प्रतिशतले बढेको छ । शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ०.०३ प्रतिशतले घटेको छ ।

    क्षेत्रगत रूपमा हेर्दा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५७ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, मधेश प्रदेशको ३.३७ प्रतिशत, बागमती प्रदेशको २.१० प्रतिशत, गण्डकी प्रदेशको १.७६ प्रतिशत, लुम्बिनी प्रदेशको २.६२ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत रहेको छ ।

    काठमाण्डौ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमालको २.६६ प्रतिशत रहेको छ । २०८२ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०१ प्रतिशत रहेको थियो । तलब तथा ज्याला सूचकाङ्कतर्फ हेर्दा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ६.०३ प्रतिशतले वृद्धि भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट