काठमाण्डौ । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले स्थानीयलाई ७ लाख कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन्।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।
अर्थ चाैतारी ।