काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ । यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीबारे ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन थालेको छ । छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको लुम्बिनीका डीआईजी भूपेन्द्र खत्रीले बताए । उनले भने– ‘छानबिन अवधिभर डीएसपी यादवलाई जिल्लाबाट प्रदेशमा झिकाइएको छ ।’
रुकुम पूर्वमा अहिले डीएसपी केशव ज्ञवालीलाई खटाइएको छ । ज्ञवाली लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । डीएसपी यादव बाराका स्थानीय हुन् । निर्वाचन प्रहरीमा भर्ना गर्न उनले बाराबाट ३ जनालाई रुकुम पूर्व बोलाएका थिए ।
उनीहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि नखटाएको भन्दै निर्वाचन प्रहरीहरूले विरोध गरेपछि घटना बाहिरिएको थियो । आफ्नो नाता पर्नेहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि परिचालन नगरेर सेवा–सुविधा दिएको आरोप छ ।
अर्थ चाैतारी ।