काठमाण्डौ । पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत ८ र ९ गते काठमाण्डौमा हुने भएको छ। लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५ सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ।
‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित २ दिनसम्म चल्ने सम्मेलनअन्र्तगत सात वटा शत्रमा लघुवित्तका विविध आयाममा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ। सम्मेलनमा लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गरिने आयोजकले जनाएको छ।
विश्वका १७७ देशमा लघुवित्त कार्यक्रम सञ्चालन हुँदै आएको भए पनि सदस्यहरूको सम्मेलन नेपाल मात्र हुँदै आएको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए। ‘लघुवित्तका नीति निर्माता तथा नियामकको सहभागितामा विश्व सम्मेलन, क्षेत्रिय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ,’ श्रेष्ठले भने।
हाल लघुवित्त वित्तीय संस्थाहरू र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरूले देशका ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन्। लघुवित्तले वित्तीय सेवाका अलावा ‘क्रेडिट प्लस’ को सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्म ५२ वटा लघुवित्त वित्तीय संस्थाले देशभर ५ हजार शाखामार्फत ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन्। जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ।
त्यस्तै, २७ लाख सदस्यले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन्। लघुवित्त गर्ने संस्थाले ४ खर्ब ९५ अबभन्दा बढी कर्जा लगानी पनि गरेका छन्।
अर्थ चाैतारी ।