काठमाण्डौ । राष्ट्रिय महिला फुटबल टोलीको कप्तान तथा विश्व चर्चित खेलाडी साबित्रा भण्डारी ‘साम्बा’ को घुँडाको शल्यकृया सम्पन्न भएको छ।
उनले कतारमा शल्यकृया गराउने इच्छा राखेको भएपनि खाडी क्षेत्रमा हाल जारी तनावका कारण न्युजील्याण्डको अकल्याण्डमा शल्यकृया सम्पन्न भएको हो। शल्यकृयाका लागि सहयोग गर्ने सम्पूर्णलाइ उनले धन्यवाद दिंदै पुनः मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
साम्बाका अनुसार, दुबइका कतारका विशेषज्ञ चिकित्सकको सुझावमा न्युजील्याण्डमै उपलब्ध विशेषज्ञ चिकित्कसद्वारा उनको शल्यकृया गरिएको हो।
साम्बा पछिल्लो समय न्युजील्याण्ड वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्धित थिइन् । खेलका क्रममा मैदानमै लड्दा उनको घुँडामा गम्भीर चोट परेको थियो। उनको उपचारका लागि ठूलो धनराशी अावश्यक पर्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत नै सहयोगको याचना गर्नु परेको थियो। अद्वितीय प्रतिभावान् साम्बाको उपचारका लागि विश्वभरबाट उनका प्रशंसक र नेपालबाट संस्थागतरूपमा समेत सहयोग राशीका लागि सहयोग जुटेको थियो।
घुँडाको शल्यकृयापछि फेसबुक पेजमा बुधबार बिहान सार्वजनिक साम्बाको सन्देश यस्तो छः
सम्पूर्णमा नमस्कार,
लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार विहान डाक्टर साइमन र वँहाको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु । खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ । अब यहाँको डाक्टकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुनेछ । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु । यस पिडाको घडीमा मलाई साथ दिनुहुने वेलिंगटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिएपनि कम हुन्छ । मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैं मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।
अर्थ चाैतारी ।