logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने सर्वोच्चको फैसला

    अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने सर्वोच्चको फैसला

    325
    SHARES
    अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने सर्वोच्चको फैसला

    काठमाण्डौ । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अल्पसंख्यक समुदायको पहिचान राष्ट्रिय जनगणनाको समग्र तथ्याङ्कका आधारमा मात्र हुने फैसला गरेको छ । कुनै निश्चित स्थानीय तह वा वडामा कुनै जातिको जनसंख्या कम भएकै आधारमा मात्र उसले अल्पसंख्यकको सुविधा पाउनुपर्ने दाबीलाई सर्वोच्चले अस्वीकार गरेको हो ।



    न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सुनसरीको कोशी गाउँपालिकाका रामकुमार महतो कोइरीले दायर गरेको रिट खारेज गर्दै यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतले संविधानको धारा ३०६ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्याख्या गर्दै अल्पसंख्यकको परिभाषा संघीय कानुन बमोजिम हुने स्पष्ट पारेको छ । फैसलामा भनिएको छ, ‘अल्पसंख्यकको पहिचान स्थानीय जनसंख्याको आधारमा नभई राष्ट्रिय जनसांख्यिक सन्तुलन र संघीय कानुनको मापदण्डका आधारमा हुनुपर्छ ।‘

    अदालतले यदि प्रत्येक स्थानीय तह वा वडापिच्छे अल्पसंख्यकको परिभाषा फेर्ने हो भने एउटै जाति कतै बहुमतमा र कतै अल्पमतमा पर्ने भई कानुनी अस्थिरता र अन्योल पैदा हुने उल्लेख गरेको छ । अदालतले ’अल्पसंख्यक’ शब्दलाई केवल गणितीय न्यूनताको रूपमा मात्र हेर्न नहुने बताएको छ । नेपाल सरकारले राष्ट्रिय जनगणना २०६८ र २०७८ को तथ्याङ्कका आधारमा ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका ९८ वटा जातिलाई अल्पसंख्यकको रूपमा सूचीकृत गरेको छ । यो सूची देशभरिका लागि एउटै हुन्छ ।

    ‘निवेदकको माग अनुसार यदि एउटा गाउँपालिकामा जनसंख्या कम हुँदा अल्पसंख्यक मान्ने हो भने नेपालका ठुला जातिहरू (जस्तै- बाहुन, क्षेत्री वा अन्य) पनि कुनै न कुनै वडा वा पालिकामा संख्यात्मक रूपमा कम हुन सक्छन्,’ फैसलामा भनेको छ, ‘यस्तो अवस्थामा उनीहरूले पनि अल्पसंख्यकको कोटा दाबी गर्न सक्ने स्थिति आउँछ, जसले वास्तविक सीमान्तकृत समुदायको अधिकार खोस्न सक्छ ।‘

    ‘सकारात्मक विभेद वा आरक्षणको व्यवस्था राज्यको मूल प्रवाहबाट किनारीकृत भएका र विशिष्ट पहिचान भएका समूहको संरक्षणका लागि हो । यो कुनै गणितीय खेल मात्र होइन । संघीय कानुनले तोकेको सीमाभित्र रहेर मात्र प्रदेश वा स्थानीय तहले आफ्नो नीति बनाउनुपर्छ,‘ सर्वोच्चको फैसलामा भनिएको छ, ’यदि स्थानीय तहपिच्छे अल्पसंख्यकको सूची फरक हुने हो भने निर्वाचन प्रक्रियामा अन्योल उत्पन्न हुन्छ ।‘ कुन पालिकामा को अल्पसंख्यक हुने भन्ने कुरा प्रत्येक निर्वाचनमा विवादको विषय बन्न सक्ने कुरा औल्याएको छ । त्यसैले संघीय सरकारले राजपत्रमा प्रकाशन गरेको सूची नै अन्तिम र बाध्यकारी हुने अदालतको ठहर छ ।

    के थियो विवाद ?

    रिट निवेदक रामकुमार महतोले सुनसरीको कोशी गाउँपालिकामा कोइरी समुदायको जनसंख्या ०.५ प्रतिशतभन्दा कम रहेको दाबी गर्दै आफूलाई अल्पसंख्यकको रूपमा प्रमाणित गरी गाउँ कार्यपालिकाको सदस्य पदमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका थिए ।

    नेपाल सरकारले राष्ट्रिय स्तरमा ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या भएका जातिलाई अल्पसंख्यकको सूचीमा राखेको छ, तर कोइरी जाति राष्ट्रिय रूपमा उक्त सूचीमा पर्दैन । निवेदकको तर्क थियो कि राष्ट्रिय स्तरमा जे भए पनि सम्बन्धित स्थानीय तहमा जनसंख्या कम भएपछि त्यहाँका लागि अल्पसंख्यक मानिनुपर्छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट