काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी)ले मध्यपूर्वको तनावले एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक वृद्धिदर र महँगीमा प्रभाव पर्ने उल्लेख गरेको छ । एडीबीको एक अध्ययनले मध्यपूर्वका देशमा चलिरहेको द्वन्दले विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर सन् २०२६–२०२७ मा १.३ प्रतिशत बिन्दुसम्म घट्ने र मुद्रास्फीति ३.२ प्रतिशत बिन्दुसम्म बढ्ने देखाएको हो ।
ऊर्जाको उपलब्धता र मूल्यमा उल्लेखनीय वृद्धि भएको, आपूर्ति श्रृंखला र व्यापारमा गम्भीर अवरोध आएको र वित्तीय अवस्था थप कसिलो बन्दै गएको जनाउँदै एडीबीले यस्तो जोखिम औल्याएको हो । साथै, युद्ध र संघर्षका कारण पर्यटन र रेम्टियान्समा समेत प्रतिकूल असर पर्न सक्ने एडीबीको भनाइ छ ।
एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले ऊर्जा अवरोधले विकासशील एसिया तथा प्रशान्त क्षेत्रका देशहरुमा असर पर्ने जनाउँदै सम्बन्धित देशका सरकारहरूले कमजोर वर्गको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । यसका साथै, सुधार गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।
अर्थ चाैतारी ।