काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारले देशको ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको प्रमुख आधारका रुपमा विकास गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री बालेनका मन्त्रिमण्डलका अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सार्वजनिक गरेका १०० कार्यसूचीमा ऊर्जा तथा जलस्रोतलाई प्राथमिकता दिएको हुन्। ‘देशको ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको प्रमुख आधारका रुपमा विकास गर्न, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोधहरु तत्काल हटाई द्रुत विकास सुनिश्चित गर्ने उद्देश्यले पेन्डिङ रहेका सबै विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्रसम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने’, कार्यसूचीमा उल्लेख छ।
यसैगरी ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने कार्यसूचीमा समावेश रहेको छ। ‘विद्युत् निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार (विशेषगरी साँझको पिक समय)मा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयनमा लैजाने’, कार्यसूचीमा भनिएको छ।
कार्यसूचीमा नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारसम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने घोषणा गरिएको छ। ‘ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गर्ने। साथै, उक्त सुधारहरु कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने’, कार्यसूचीमा उल्लेख छ।
अर्थ चाैतारी ।