काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र नीतिगत सुधारका विषयमा छलफल गरेको छ।
भेटका क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रलाई उकास्न सरकारले नयाँ र व्यावहारिक नीति ल्याउनुपर्नेमा जोड दिए। उनले अटोमोबाइल क्षेत्र चलायमान हुँदा सरकारको राजस्वमा वृद्धि हुनुका साथै रोजगारीका अवसर समेत बढ्ने उल्लेख गरे। सो अवसरमा नाडाका तर्फबाट ३६ बुँदे लिखित सुझाव समेत पेश गरिएको थियो।
जवाफमा अर्थमन्त्री वाग्लेले सरकार राजस्व संकलन वृद्धि गर्ने उपायहरूको खोजीमा रहेको बताउँदै राजस्वको दायरा विस्तार गरी करको दर घटाउन चाहेको उल्लेख गरे। “हामी निजी क्षेत्रमैत्री नीति ल्याउन प्रतिबद्ध छौँ,” मन्त्री वाग्लेले भने, “अनियमितता हटाउन र सडक पूर्वाधारमा ठूलो लगानी गर्न सरकारले प्राथमिकता दिनेछ।” उनले आगामी बजेट निर्माणका क्रममा नाडासँग पुनः सघन छलफल गर्ने आश्वासन समेत दिए।
छलफलका क्रममा नाडाका प्रतिनिधिहरूले स्थानीय उत्पादनमा जोड दिन माग गरे। अध्यक्ष उप्रेतीले टायर, ब्याट्री र हेलमेट जस्ता वस्तु नेपालमै उत्पादन भइरहे पनि सरकारसँग गुणस्तर मापन गर्ने यन्त्र नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको गुनासो गरे। उनले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने माग समेत राखे।
त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए भने विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले विद्युतीय सवारी साधनको प्रवर्द्धन र सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणका लागि कडा नीतिको खाँचो औंल्याए।
भेटघाटमा नाडाका उपाध्यक्षहरू विक्रम सिंघानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अर्थ चाैतारी ।