बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत छ । सुरुङ मार्गको ब्रेकथ्रु भएसँगै भौतिक संरचना निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख नवराज बास्तोलाले बताए ।
अहिले सुरुङको भित्री भागका भुइँ ढलान, भित्तो लेपनको लगायत काम सम्पन्न भएको उनले जानकारी दिए । तीन वटै बाइपासको एकैसाथ काम भएको उनको भनाइ छ । उक्त सुरुङ मार्गको लाइनिङ सम्बन्धी काम कुल १५२० मिटर सम्पन्न भएको छ । यहाँ इन्भर्ट (भुइँको ढलान कार्य)पनि सकिएको छ भने दुवै किनारमा नालीको बेस पनि निर्माण गरिएको छ । सुरुङभित्र सडक निर्माणको काम आगामी साउन अन्तिममा सकिनेगरी काम भइरहेको आयोजना प्रमुख बास्तोलाको भनाइ छ । बाहिरका अन्य काम पूरा गरेर आगामी दसैँसम्म गाडी गुडाउन मिल्ने बनाउने लक्ष्य राखिएको उनले बताए ।
यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी)सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०८३ चैत सम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

अहिले दैनिक २५० जनाभन्दा धेरै कामदार यो आयोजना निर्माणमा परिचालित रहेको निर्माण कम्पनीको दाबी छ । उक्त सुरुङ मार्ग सञ्चालनमा आएपछि निरीक्षण गर्न आवश्यक पर्ने भवनसमेत बुटवल सडक कार्यलयको कम्पान्डभित्र निर्माणाधीन छ । यस्तै दुई वटा टनेल बाहिर कन्ट्रोल भवन निर्माणको काम चलिरहेको छ । सुरुङ मार्ग सुरक्षाका लागि ती कन्ट्रोल भवन उत्तर र दक्षिण प्रवेशद्वारमा निर्माणका क्रममा रहेको आयोजना प्रमुख बास्तोलाले बताए ।
कन्ट्रोल बिल्डिङमा सुरुङ मार्गभित्रका गतिविधि अवलोकन गरिन्छ । भित्र दुर्घटना भए–नभएको, प्रदूषणको अवस्था, ध्वनिको अवस्था, हावाको गति आदि कम्प्युटर स्क्रिनबाटै अवलोकन गर्न सकिने उनले प्रस्ट्याए । सिद्धबाबा सुरु मार्ग निर्माणपछि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता गर्ने बेलामै मर्मतको म्याद ५ वर्ष राखिएको आयोजना प्रमुख बास्तोलाले खुलाए ।

ठेकदार कम्पनीले यहाँ सुरक्षाको व्यवस्था, उपकरणहरू जडान, वायरिङ, भेन्टिलेसन, अग्नि नियन्त्रक लगायतका केही समान ल्याइसकेको छ भने केही समान अहिले केरुङ नाकामा आइपुगेको जनाएको छ । भन्सार प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले छिटो छरितो बनाउन परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल भइरहेको जनाइएको छ । परियोजना अन्तर्गत सुरुङ मार्ग निर्माण भएपछि टलेनभन्दा पर दोभान क्षेत्रतिर पहिरो नियन्त्रण गर्ने तथा ढुङ्गा खस्न रोक्ने गरी काम गर्न परियोजनाले ठेकदारसँग सम्झौता गरिसकेको छ । जसमा करिब ४० मिटर जति उचाइमा ढुङ्गाहरूलाई टेका लगाउने, यस्तै माथिबाट खस्ने ढुङ्गाहरूलाई रकनेट लगाएर ढुङ्गाको गति कम गर्ने विधि अपनाइने काम गर्ने सम्झौता भएको छ ।
दुई लेनको मुख्य सुरुङ मार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । पहिला सुरुङ मार्ग निर्माण सक्ने र गाडी गुड्न थालेपछि बाहिरको काम गर्ने योजना रहेको बास्तोलाले बताए । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्र सवारी साधनमा यात्रा गर्नका लागि सधैँ जोखिमपूर्ण मानिन्छ । हिउँदमा माथिबाट ढुङ्गा खस्ने र बर्खामा पहिरोको त्रासले गर्दा पाल्पाको दोभानबाट बुटवल आउजाउ गर्न सधैँ त्रास हुने गर्दछ ।
अर्थ चाैतारी ।