logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • राजनीति गर्ने भए जागिर छोड्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

    राजनीति गर्ने भए जागिर छोड्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

    52
    SHARES
    राजनीति गर्ने भए जागिर छोड्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउन उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।



    उनले विश्वविद्यालय र स्वास्थ्य मा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन दिँदै यो निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न आग्रह गरे ।

    शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न हुँदैन र यसका लागि दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भने, ‘अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न पाइँदैन, यदि राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सकिन्छ ।’

    प्रधानमन्त्रीले उपकुलपतिहरूसँग साढे ३ घण्टा लामो गरेको छलफलमा सहभागी उपकुलपतिहरूले शैक्षिक संस्थामा भइरहेको राजनीतिले नकारात्मक प्रभाव परेको बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको बताए ।

    जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउँदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न आग्रह गरेका छन् ।

    उनले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे ।

     

    क्यालेन्डरको पूर्ण पालना गर्नुपर्ने

    प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न पनि उपकुलपतिलाई आग्रह गरेका छन् । उनले विश्वविद्यालयले परीक्षा लिने र सार्वजनिक गर्ने समय निकै ढिलो हुने गरेको गुनासो आएकाले परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए ।

    यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन्जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको बताए ।

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताएका छन् ।

    अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट