काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गरेका हुन् ।
नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । उनले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे ।
जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्व दिएको स्मरण गरे । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उनको चेतावनी छ ।
पाण्डेले भने, ‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ ।’
नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताए ।
अर्थ चाैतारी ।