काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई राजस्व तथा अन्य सरकारी रकम प्रणालीमा तत्काल प्रविष्टी गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुको नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सरकारी कारोबार सञ्चालनका लागि स्वीकृति प्राप्त वाणिज्य बैंकहरुले राजस्व तथा अन्य सरकारी रकम बुझिलिने तर प्राप्त सम्पूर्ण भौचरहरु राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) र सुत्र रेभेन्यु मोडुललगायतका प्रणालीमा तत्काल प्रविष्टी गर्ने नगरेकोले सेवाग्राहीले तत्काल सेवा लिन नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यो परिपत्र जारी गरेको हो।
परिपत्रमा राष्ट्र बैंकबाट जारी सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१)को परिच्छेद ५ मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको राजस्व संकलन सम्बन्धमा रहेको व्यवस्थाबमोजिम विशेष परिस्थितिको अवस्थामा बाहेक आरएमआईएस र सुत्र रेभेन्यु मोडुललगायतका प्रणालीमा राजस्व तथा अन्य भौचर प्रविष्ट गरेपछि मात्रै राजस्व तथा अन्य सरकारी रकम बुझिलिने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ।
अर्थ चाैतारी ।