logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • स्टार्टअप कर्जाका लागि १३ सय १ आयोजना प्रारम्भिक छनोटमा

    स्टार्टअप कर्जाका लागि १३ सय १ आयोजना प्रारम्भिक छनोटमा

    637
    SHARES
    स्टार्टअप कर्जाका लागि १३ सय १ आयोजना प्रारम्भिक छनोटमा

    काठमाण्डौ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त प्रस्तावहरूमध्ये १ हजार ३ सय १ वटा परियोजनालाई प्रारम्भिक सूचीमा छनोट गरेको छ । प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूलाई आगामी वैशाख २३ गतेभित्र आफ्नो व्यावसायिक विवरण बुझाउन निर्देशन दिएको छ ।



    छनोट भएका प्रस्तावकले मोबाइलमा प्राप्त मेसेज लिंकमार्फत वेबसाइटमा उपलब्ध ढाँचा अनुसारको विवरण भरेर ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नपठाउने प्रस्तावकको हकमा प्रस्ताव स्वतः अमान्य हुने प्रतिष्ठानले स्पष्ट पारेको छ ।

    यसपटक स्टार्टअप कर्जाका लागि गत कात्तिक २१ गते २१ दिने सूचना जारी गरी प्रस्ताव आह्वान गरिएको थियो, जसमा देशभरबाट १० हजार २ सयभन्दा बढी उद्यमीले आवेदन दिएका थिए । सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप कर्जा प्रवाह गर्न सुरुमा ७३ करोड रुपैयाँ विनियोजन गरे पनि पछि रकमान्तरण गरी बजेटको आकार १ अर्ब २६ करोड रुपैयाँ पुर्‍याएको छ ।

    प्रतिष्ठानले यसअघि दुई पटक कर्जा वितरण गरिसकेको छ भने यो तेस्रो चरणको कार्यक्रम हो । विगतमा स्थलगत निरीक्षणको अभावमा केही नक्कली प्रस्तावहरू समेत भेटिएकाले यस वर्ष परियोजनाको भौतिक जाँचलाई समेत कडाइ गरिएको प्रतिष्ठानले जनाएको छ ।

    यस कार्यक्रम अन्तर्गत छनोट हुने योग्य उद्यमीहरूले न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउनेछन् । कर्जाका लागि कृषि, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र उत्पादनमूलक लगायतका क्षेत्रमा नवीन सोच र प्रविधिमा आधारित उद्यमहरूलाई प्राथमिकता दिइएको छ ।

    प्रारम्भिक सूचीमा खाजा पसलदेखि कम्प्युटर सेन्टरसम्मका परियोजनाहरू समेटिएका छन् । गत वर्ष मात्रै प्रतिष्ठानले ६ सय उद्यमीलाई करिब ८८ करोड रुपैयाँ स्टार्टअप कर्जा वितरण गरेको थियो ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट