काठमाण्डौ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार यस प्रणालीको उद्घाटन गरेका छन्।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्नेछन्। यस अघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रुपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो।
नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारी साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर विना झन्झट नेपाल घुम्न आउन सक्छन्। नयाँ अनलाइन सहजीकरण सेवाको सुरु गर्दै अर्थमन्त्री डा.वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए।
‘सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,’ उनले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्। सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ।’
नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारी साधनको इजाजत अब डिजिटल भएको बताए। उनकाअनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सबारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन्। जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ।
नेपाल सरकारलाई तिर्ने राजश्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैँक काउन्टरबाट तिर्न सक्छन्। अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाई छ।
यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्नसक्ने विभागले जनाएको छ। विभागका अनुसार यस्ता सवारी साधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन्।
यो सबै सेवा लिनका लागि भन्सार विभागको वेबसाइटमा गएर ‘हाम्रा सेवाहरू’ शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ। सबै विवरण अध्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुन्छ। सोको आधारमा आफूले तिर्न पर्ने शुल्क तिरेर सवारी साधनहरू नेपाल भित्रिन सक्छन्। नेपालभरका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएको खण्डामा यात्रा गर्न पाउँछन्।
विभागकाअनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो। तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारी साधनका लागि लागू गरिएको भन्सार विभागले जनाएको छ।
हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारी साधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ। तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ।
अर्थ चाैतारी ।