काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको साख जोगाउन र आफ्ना एजेन्डाहरू स्थापित गर्न सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। महासंघको ६० औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनपछि आयोजित पद हस्तान्तरण तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।
नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसहितको नयाँ कार्यसमितिलाई बधाई दिँदै ढकालले निर्वाचनका क्रममा भएका समूहगत प्रतिस्पर्धालाई बिर्सेर अब एक ढिक्का भई अगाडि बढ्न आग्रह गरे। उनले भने, ‘मतपत्र ब्यालेट बक्समा खसेको क्षणसँगै चुनावी प्यानलको अध्याय समाप्त भएको छ। अब हाम्रा एजेन्डाहरू साझा हुनुपर्छ र निजी क्षेत्रको आवाज एक स्वरमा सरकारसम्म पुग्नुपर्छ।’
आफ्नो कार्यकालका चुनौती र उपलब्धिहरूको स्मरण गर्दै ढकालले महासंघको जग अहिले धेरै बलियो बनेको दाबी गरे। कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्ने प्रयासको प्रतिवाद र ५० वर्ष पुराना कानुनहरूको सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन हुनुलाई उनले आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे।
नवनियुक्त अध्यक्षलाई सुझाव दिँदै उनले व्यक्तिगत व्यवसायभन्दा संस्थाको गरिमा र अध्यक्षको जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गरे। निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा हेर्ने सार्वजनिक र सरकारी दृष्टिकोणमा परिवर्तन ल्याउन ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ को कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।
महासंघको विधानमा ऐतिहासिक संशोधन गरी प्रत्यक्ष निर्वाचन र योग्यताका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको भन्दै उनले नयाँ नेतृत्वले यसलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
मुलुकको राजस्व, रोजगारी र पूर्वाधार निर्माणमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै ढकालले वर्तमान सरकारसँग निजी क्षेत्रका मागहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरे। नयाँ कार्यसमितिले संस्थागत सुदृढीकरणका लागि थप सफलता प्राप्त गर्नेमा उनले आशा व्यक्त गरेका छन्।
अर्थ चाैतारी ।