काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री स्वयंले अपनत्व नलिएको गम्भीर आरोप लगाएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक पदम परियारले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले संसद छाडेर बाहिरिनुले सरकारको आफ्नै कार्यक्रमप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाएको बताएका हुन्।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन भइरहेका बेला प्रधानमन्त्रीले देखाएको व्यवहारलाई विपक्षी दलहरूले असंवैधानिक, असंसदीय र अमर्यादित हर्कत भन्दै तीव्र आलोचना गरिरहेका छन्। सचेतक परियारले यस्तो अधैर्य र अशिष्ट व्यवहारले लोकतान्त्रिक मूल्य एवं संसदीय संस्कारमाथि ठूलो प्रहार गरेको टिप्पणी गरे। नेपालको संसदीय इतिहासमा पहिलो पटक यस्तो दुःखद दृश्य देखिएको उल्लेख गर्दै उनले लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण नागरिक यस घटनाबाट मर्माहत भएको बताए।
सदनमा विशेष समय लिएर बोल्दै परियारले भने, ‘संघीय संसदको बैठकमा नेपाल सरकारको तर्फबाट सम्माननीय राष्ट्रपतिज्युबाट नेपाल सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा नेपालको इतिहासमा जसरी पहिलो पटक असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित व्यवहारको साक्षी हामी हुनुपर्यो। नेपालका तमाम लोकतन्त्रवादी शक्ति र नागरिक दुःखी भएका छन्। यस्तो अशिष्ट व्यवहार रहिरहँदा लोकतन्त्रप्रति ठूलो प्रहार भएको हामीले महसुस गरेका छौँ। आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ, तर प्रधानमन्त्रीले नै अपनत्व नलिएपछि यसमाथि छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको छ।’
सांसद परियारले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सांसदहरू मनोमानी ढङ्गले उठेर हिँड्ने प्रवृत्तिले संसदीय अभ्यास र मर्यादाको उपहास गरेको बताए। यस्तो असंसदीय व्यवहार अब सहन नसकिने भन्दै उनले प्रधानमन्त्रीले नै अपनत्व नलिएको अवस्थामा छलफल गर्नुको औचित्य नहुने तर्क गरे। उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै राष्ट्रिय सभाका अध्यक्षबाट सरकारको नाममा रुलिङ हुनुपर्ने अडान समेत राखेका छन्।
अर्थ चाैतारी ।