काठमाण्डौ । बेरुजु खर्च गर्ने संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालय अगाडि देखिएको छ। मन्त्रालयमा कुल बेरुजु ७०.३६ प्रतिशत देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २२ खर्ब ४४ अर्ब ७८ करोड ८ लाखको लेखापरीक्षण गर्दा अर्थमा २० अर्ब ९५ करोड २४ लाख असुल गर्नुपर्ने, १६ अर्ब ६३ करोड ५० लाख नियमित गर्नुपर्ने, ४ करोड ५७ लाख पेस्की बाँकी गरी जम्मा ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ कुल बेरुजु देखिएको छ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ १ खर्ब २३ अर्ब ९३ करोड ४३ लाखको लेखापरीक्षण हुँदा असुल गर्नुपर्ने रकम २ अर्ब २० करोड ७७ लाख, नियमित गर्नुपर्ने ४ अर्ब ४० करोड ७५ लाख र पेस्की बाँकीतर्फ ४८ करोड ८१ लाख गरी जम्मा ७ अर्ब १० करोड ३३ लाख बेरुजु रहेको छ। यो कुल बेरुजुको १३.२८ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ।
यता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा २.८७ प्रतिशत बेरुजु देखिएको छ। मन्त्रालयमा कुल १ अर्ब ५३ करोड ६६ लाख बेरुजु रहेको छ भने वन तथा वातावरण मन्त्रालयमा २.५२ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ५७ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २.१८ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ७८ लाख बेरुजु रकम छ।
त्यसैगरी सहरी विकास मन्त्रालयमा ८० करोड ५१ लाख, परराष्ट्र मन्त्रालयमा ७४ करोड ३४ लाख, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६५ करोड २६ लाख, गृहमा ५७ करोड ७२ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५२ करोड ४३ लाख र अन्य मन्त्रालयहरुमा १ अर्ब ३९ करोड ८६ लाख गरी कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ मन्त्रालयगत बेरुजु देखिएको छ।
यी १० मन्त्रालयमा कुल बेरुजुको ९७.३९ प्रतिशत र अन्यमा २.६१ प्रतिशत बेरुजु देखिएको हो। कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष २.९९ प्रतिशतले बढेर अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब पुगेको हो।
यसअनुसार संघीय कार्यालयमा ३ खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख, प्रदेश सरकारी कार्यालयमा ३३ अर्ब ९६ करोड ९० लाख, स्थानीय तहमा २ खर्ब २० अर्ब ४७ करोड २६ लाख तथा समिति र अन्य संस्था (प्रदेश समेत)मा १ खर्ब २२ अर्ब १९ करोड ४२ लाख रुपैयाँ कुल बेरुजु रहेको छ।
त्यसैगरी कारबाही टुंगो लगाउनुपर्ने रकम ७ खर्ब ८७ अर्ब ८६ करोड ३ लाख रहेको छ । कार्यालयले यो वर्ष ५ हजार ५ सय २६ सरकारी निकाय, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाखको लेखा परीक्षण गर्दा बेरुजुको यो विवरण आएको हो।
अर्थ चाैतारी ।