काठमाण्डौ । निर्वाचन आयोगले २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । आयोगको मिति २०८३ जेठ ५ मा बसेको बैठकको निर्णयानुसार उक्त खर्च विवरण सार्वजनिक गरिएको हो ।
आयोगका अनुसार २०८२ साल फागुन २१ गते बिहीबारका दिन सफलतापूर्वक सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनका लागि नेपाल सरकारबाट कूल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो । जसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र खर्च भएको आयोगले जनाएको छ।
विज्ञप्ति अनुसार कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च हुन आएको देखिन्छ ।
आयोगले निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना, २०८२ बमोजिम एकीकृत हिसाब सार्वजनिक गरेको हो । यस खर्च विवरणमा निर्वाचन आयोग र मातहतका कार्यालयहरूको बजेट निकासा, खर्च, राजस्व र धरौटीसहितका समग्र पक्षहरू समेटिएका छन् ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, कोष नियन्त्रक लगायतका सम्पूर्ण कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
