काठमाण्डौ । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका महोत्तरीको बर्दिबास-३ कालापानी क्षेत्रका स्थानीयवासीसँग स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ। अहिले कालापानीको सामुदायिक भवनमा संघर्ष समिति र स्थानीय प्रशासनबिच वार्ता भइरहेको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्। स्थानीयको अवरोधको कारण कालापानी क्षेत्रमा साेमबार साँझ पाँचबजेदेखि नै यातायात अवरुद्ध छ। प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि गयराति स्थानीयले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगोसमेत लगाएका छन्।
अहिले जारी वार्तामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी, संघर्ष समितिका पदाधिकारी र स्थानीयवासी सहभागी छन्। राजमार्ग बन्द हुँदा सोमबार साँझदेखि नै बर्दिबास-सिन्धुली सडक खण्डमा गाडी चल्न सकेको छैन।
स्थानीयवासी रोशनकुमार कार्कीले वन कार्यालयले बस्ती उठाउने सूचना गरेपछि स्थानीयवासीमा त्रास बढेको बताए। ‘कालापानी क्षेत्रमा मात्रै करिब तीनसय घर परिवारको बसोबास छ,’ उनले नेपालखबरसँग भने, ‘जिल्ला वन कार्यालयले जारी गरेको सूचनालाई आधार मान्ने हो भने यहाँबाट करिब अढाईसय परिवार विस्थापित हुने अवस्था देखिन्छ। हामीले यहाँ वन क्षेत्र अतिक्रमण गरेर नयाँ बस्ती बसाइका होइनौँ। यो क्षेत्र अव्यवस्थित बसोबास भएको ठाउँ हो। लालपुर्जा छैन। बस्ती पुरानो हो।’
सोमबार साँझ हतियारसहित आएका वन कार्यालयको टोलीले बस्तीमा पुगेर लालपुर्जा मागेपछि तनावको स्थिति सिर्जना भएको उनले बताए। ‘तपाईँहरूसँग यो गग्गाको लालपूर्जा छैन भने बुधबारसम्ममा अतिक्रमित बस्ती छाड्नु भन्ने सूचना उनीहरूले जारी गरेपछि अवस्था विग्रिएको हो,’ कार्कीले भने, ‘बर्सौँदैखि बसोबास गर्दै आएको बस्ती हटाउने भनेपछि स्थानीयले सडक बन्द गरेर आन्दोलित बन्नुपर्ने अवस्था आएको छ।’ सोमबार राति नै स्थानीयले सडक अवरुद्ध गरेपछि बस्ती हटाउन भन्दै सूचना जारी गर्न गएको वनको गाडी रोकिएका थिए। वनका कर्मचारीसँग स्थानीयले छलफल गरिरहँदा पुगेको प्रहरीले सडकमा बसेका स्थानीयमाथि लाठीचार्ज गरेपछि अवस्था बिग्रिएको कार्कीले बताए। सडकमा बसेका स्थानीयलाई हटाउन प्रहरीले सोमबार राति साढे १२ बजेतिर लाठीचार्ज गरेको थियो। त्यसपछि प्रतिकारमा उत्रिएका स्थानीयले वनको गाडीमा आगो लगाएका हुन्।
त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। स्थानीयको प्रतिकारपछि राति प्रहरी घटनास्थलबाट हिँडेका थिए। राति नै बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीसहितले घटनास्थलमा पुगेर वनका कर्मचारीलाई स्थानीयबाट छुटाएका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले गएराति स्थानीयले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका बताए। त्यसक्रममा प्रहरीले स्थानीय गोपी श्रेष्ठलाई पक्राउ गरेको थियो। उनलाई राति नै छाडिएको प्रहरीले जनाएको छ।
अर्थ चाैतारी ।