काठमाण्डौ । इस्टर्न सुगर मिल्सले एकै वर्ष साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२४ मा १ अर्ब ४० करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा १ लाख ९१ हजार ३ सय २ मेट्रिक टन उखु प्रशोधन गरेको छ । सन् २०२४ मा १ लाख ८५ हजार ५ सय ४ मेट्रिक टन प्रशोधन गरेको थियो । सरकारले गत आवमा उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ५ सय ८५ रुपैयाँ तोकेको थियो । सन् २०२४ मा प्रति क्विन्टल ५ सय ६५ रुपैयाँ थियो ।
गत आवमा न्यूनतम समर्थन मूल्य वृद्धि हुँदा नाफा मार्जिनमा थप दबाब सिर्जना गरेको छ । त्यस्तै, चालु आवमा सरकारले सरकारी अनुदान प्रति क्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ । जसले गर्दा आगामी अवधिमा पनि यस्तै दबाब रहने अपेक्षा गरिएको छ । त्यसैगरी, सरकारले चालु आवमा चिनीको आयात शुल्क घटाएको छ । सन् २०२४ मा चिनी आयातमा ३० प्रतिशत भन्सार दर रहेकोमा गत आवमा घटाएर १५ प्रतिशत कायम गरेको छ ।
सरकारले चिनी आयातमा भन्सार दर घटाउँदा नेपाली उद्योगको सञ्चालन तथा वित्तीय अवस्थामाथि नकारात्मक प्रभाव पार्ने सम्भावना छ । तर, भारतले हालै चिनी निर्यातमा लगाएको प्रतिबन्धले केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीको कम सञ्चालन नाफा मार्जिन तथा हालै ऋणमार्फत सम्पन्न गरिएको पुँजीगत विस्तारका कारण कम्पनीका ऋण भुक्तानी क्षमता सूचकहरू कमजोर बनेकाले रेटिङ अझै दबाबमा रहेको छ ।
सन् १९९६ मा व्यावसायिक कारोबार सुरु गरेको कम्पनीले दैनिक २५ सय टन उखु प्रशोधन गर्दै आएको छ । सुनसरीमा रहेको कम्पनीमा गोल्छा र विशाल ग्रुपको स्वामित्व छ । कम्पनीमा एम/एस फ्ल्याटवुडको २७ प्रतिशत, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, हितेश गोल्छाको ९/९ प्रतिशत, एम/एस युनाइटेड डिष्ट्रिब्युटर्स नेपालको ७ प्रतिशत, दिनेश गोल्छाको ६ प्रतिशत र अशोककुमार अग्रवालको ५ प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५३ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको हो ।
अर्थ चाैतारी ।