काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने र बयान समेत नदिने बताएका छन् । राजधानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिए ।
ओलीले विपक्षीलाई फसाउनका लागि पूर्वाग्रह राखेर आयोग गठन गरिएकाले त्यसमा सम्पत्ति विवरण भरेर नपठाउने स्पष्ट पारे। ‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’
उनले वर्तमान राज्य संयन्त्रलाई ‘प्रतिशोध र पूर्वाग्रहको पोको’ को संज्ञा दिँदै यो देशद्रोही क्रियाकलाप गर्ने प्रयोजनका लागि बनेको आरोप लगाए । ओलीले सम्पत्ति आगजनी गरिएको भन्दै के विवरण बुझाउनु भन्दै प्रश्न गरे । ‘आगो लागाएर पुगेन ? सम्पत्ति विवरण खरानी छ खरानी उठाएर लैजा सरकार,’ ओलीले भने, ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ।’
यस्तै, अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराए । नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे ।
ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण समेत गराए । उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर पचाउन खोजेको आरोप लगाए । ‘यो सानोतिनो कुरा होइन, राष्ट्रको सम्पत्ति जलाउने जस्तो अपराधलाई बेवास्ता गर्न मिल्दैन,’ ओलीले भने । उनले वर्तमान शासन शैली र सुरक्षा अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अराजकतन्त्र धेरै दिनको पाहुना नभएको बताए ।
अर्थ चाैतारी ।