काठमाण्डौ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय,सडक डिभिजन महेन्द्रनगर,कञ्चनपुरले महाकाली राजमार्गको स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै काठमाडौँको बालाजुस्थित नागार्जुन कन्स्ट्रक्सन प्रालि सँगको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको छ ।
सडक डिभिजन महेन्द्रनगर र नागार्जुन कन्स्ट्रक्सनबिच महाकाली राजमार्ग (कैलाली खण्डको चेनेज १६ं००० देखि ५८ं००० सम्म) मा पुनर्स्थापना, भिरालो सडक स्थिरीकरण तथा कालोपत्रे निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।सडक डिभिजन कार्यालयका अनुसार तोकिएको कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरिएको थियो । ताकेता गर्दा पनि काम अघि नबढेपछि कार्यालयले गत २०८२ चैत २३ गते गोरखापत्र दैनिकमा स्पष्टीकरण सम्बन्धी सूचना प्रकाशित गरेको थियो । सो स्पष्टीकरणको समेत कुनै जवाफ पेस नगरेका कारण कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२) र (७) तथा ठेक्का सम्झौताको ’जीसीसी क्लज’ ७२ र ७२.३ (वी) को व्यवस्था अनुसार गत २०८३ जेठ १८ गतेको निर्णयबाट उक्त ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ ।
सम्झौता रद्द भएसँगै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (३) र (८) तथा सम्झौताको प्रावधान अनुसार कार्यको मूल्याङ्कन गरिने कार्यालयले जनाएको छ । यस प्रक्रियाबाट स्थापित हुने क्षतिपूर्ति वा बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गरिने कानुनी व्यवस्था रहेको छ ।
सडक डिभिजन कार्यालयले सूचना प्रकाशित भएको १५ दिनभित्र वित्तीय फर फारकका लागि कार्यालयमा सम्पर्क राख्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
_h83bLmo8Mz.jpg)
अर्थ चाैतारी ।