काठमाण्डौ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आर्थिक विधेयकमा भएका विभिन्न ५ वटा त्रुटीलाई सच्चाएका छन् । उनले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै जारी गरेको आर्थिक विधेयक २०८३ मा भएका त्रुटीलाई सच्याएर संसदमा सचिवालयमा दर्ता गराएका हुन् ।
उनले सार्वजनिक गरेको आर्थिक विधेयकमा त्रुटी फेला परेपछि अर्थ मन्त्रालयले नै एक पछि अर्को गर्दै चार पटकसम्म सच्चाएर वेबसाइटमा प्रकाशन गरेको छ । मन्त्रालयले पटक पटक आर्थिक विधेयक सच्चाएकै कारण १५ जेठमा राजपत्रमा प्रकाशित हुनुपर्ने सूचित आदेश २० जेठमा मात्रै प्रकाशित भएको छ ।
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको दता ११को उपदफा २ मा, अनुसूची ४ मा छुटेको प्रकारण ५, दफा ५५ को उपदफा १०को अनुसूची १ को समूह २ को भन्सार उपशीर्षक सच्चाएका छन् । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको दफा ५७ कै उपदफा ५ को खण्ड ‘क’ पछि ‘ख’ थप गरिएको, दफा ५८ को उपदफा ५ मा भएको अनुसूची-३ को भन्सार उपशीर्षकमा संशोधन भएको जानकारी संसद सचिवाललाई दिएका छन् ।
स्रोतका अनुसार अर्थमन्त्रीले संसदमा गराएको जानकारीसहितको विवरण सांसदहरूलाई अवगत गराइ सकिएको छ । अर्थमन्त्रीले संसदमा गराएको जानकारी अनुसार भन्सार विन्दुमा अन्तःशुल्क तिरिसकेका गाडिमा स्वच्छ पूर्वाधार निर्माण शुल्क लाग्ने छैन । यसैगरी २० लाख रूपैयाँसम्म इन्भ्वाइस मूल्य भएका विद्युतीय कारमा अरूभन्दा आधा अर्थात् २.५ प्रतिशत मात्र सडक निर्माण दस्तुर लाग्नेछ ।
यता ऊर्जा उत्पादकले नेपाल विद्युत प्राधिकरणलाई भ्याट बिल काट्न नपाउने व्यवस्था पनि सांसदहरूलाई बाँडेको चिर्कटोमा उल्लेख छ । साथै महानगर र उपमहानगर बाहेक क्षेत्रमा फिल्म हललाई १० वर्षसम्म आयकर नलाग्ने व्यवस्था पनि थप गरिएको छ ।
अर्थमन्त्रीले बालबच्चाको विद्यालय फीमा भएको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रूपैयाँ जुन घटी हुन्छ, त्यो रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था पनि विधेयकै संशोधन गरेर गरेका छन् ।

अर्थ चाैतारी ।