काठमाण्डौ । खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलमा यस वर्षको ‘ज्ञान मेला’ (नलेज फेयर) सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित मेला यस पटक “हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौँ?” भन्ने दार्शनिक प्रश्न र खोजमा केन्द्रित थियो।
यस वर्षको मेलाको मुख्य विषयवस्तु नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान रहेको थियो। मेलामा विद्यार्थीहरू परम्परागत नेपाली पोसाकमा उपस्थित थिए भने विद्यालय परिसरलाई रातो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूपको कलात्मक स्वरूपले सजाइएको थियो।
कार्यक्रमको मुख्य आकर्षण ‘डिप्लोमा प्रोग्राम’ (DP1) का विद्यार्थीहरूद्वारा सञ्चालित १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए। ती स्टलहरूमा प्राचीन हस्तलिपि, छेत्री पुतली, डीएनएको तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै ज्ञानको स्रोत र त्यसको प्रामाणिकतामाथि आगन्तुकहरूसँग छलफल गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि द्युतीमान चौधरीले ज्ञान मेलाको उद्घाटन गर्दै विद्यार्थीहरूका स्टलहरूको अवलोकन गर्नुभयो। उहाँले विद्यार्थीहरूले शैक्षिक अवधारणालाई व्यावहारिक जीवनसँग जोडेर प्रस्तुत गरेको शैलीको प्रशंसा गरे।

इन्टरनेसनल ब्याचलर्स (IB) पाठ्यक्रम अन्तर्गत ‘थ्योरी अफ नलेज’ (TOK) एक महत्त्वपूर्ण विधा हो। यसले विद्यार्थीलाई आफूले सिकिरहेको ज्ञानको प्रकृति, स्रोत र विश्वसनीयताबारे गहिरो रूपमा सोच्न प्रेरित गर्छ। मेलामा आयोजित प्रदर्शनी सोही पाठ्यक्रमको मूल्याङ्कन प्रक्रियाको एक हिस्सा हो, जहाँ विद्यार्थीले वास्तविक जीवनका वस्तु छनोट गरी त्यसलाई ज्ञानको सिद्धान्तसँग जोडेर तर्क प्रस्तुत गर्छन्।
विद्यालयका अनुसार यस मेलाले कक्षाकोठाको सिकाइलाई व्यावहारिक धरातलमा उतार्ने प्रयास गरेको छ। मेलामा प्रदर्शित ढाकाको कपडा वा अन्य सांस्कृतिक वस्तुहरू केवल प्रदर्शनका लागि मात्र नभई ज्ञानको बलियो दाबी र विद्यार्थीहरूको अनुसन्धानको माध्यम बनेका थिए।

अर्थ चाैतारी ।