काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभाव र कब्जामा रहेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अङ्गहरू समेत स्वार्थ समूहको गोजी र नियन्त्रणमा रहेको तथ्यहरू अहिले खुलिरहेको बताएका हुन् ।
वर्तमान सरकार ती स्वार्थ समूहहरूको जालोलाई तोड्ने र मुलुकको अर्थतन्त्रमा देखिएका बेथितिहरूलाई जरैदेखि सफा गर्ने ‘क्लिन अप दि मेस’ अभियानमा लागेको उनले स्पष्ट पारे। अर्थमन्त्री वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको खुलासा गरे।
१ खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित सो मुद्दा अदालतमा चलिरहेको जानकारी दिँदै उनले यसको पछाडिको कथा पढेमा देशका राजनीतिक व्यक्ति र निकायहरू कसरी प्रभावित भएका रहेछन् भन्ने कुराले डर लाग्ने स्थिति रहेको बताए। सरकारले अहिले सुरु गरेको यो शुद्धीकरण अभियानले मुलुकमा व्याप्त बेथिति अन्त्य गर्ने उनको भनाई छ।
मुलुक कहिल्यै बन्दैन र यहाँ केही हुँदैन भन्ने नकारात्मक सोचका कारण युवाहरू विदेशिनुपर्ने बाध्यताको भाष्यलाई चिर्न सरकार दृढताका साथ अघि बढिरहेको अर्थमन्त्रीले दाबी गरे। युवाहरूलाई स्वदेशमै आफ्ना सपना पूरा गर्ने वातावरण बनाउन सरकार लागिपरेको भन्दै उनले युवा पुस्तालाई सम्बोधन गर्दै भने, ‘तपाईंहरू आउनुहोस् र भन्नुहोस् के के सुधार्नुपर्ने हो? यसका लागि बजेट कुर्नुपर्दैन।’ उनले मुलुकमा सुशासन र आर्थिक समृद्धिको बलियो जग बसाउनका लागि सरकार पाँच वर्षको स्पष्ट रोडम्यापसहित अगाडि बढिरहेको समेत स्पष्ट पारे।
अर्थ चाैतारी ।