logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सीमा व्यवस्थापनबारे नेपाल-भारत फिल्ड सर्भे टोलीको बैठक जनकपुरमा

    सीमा व्यवस्थापनबारे नेपाल-भारत फिल्ड सर्भे टोलीको बैठक जनकपुरमा

    169
    SHARES
    सीमा व्यवस्थापनबारे नेपाल-भारत फिल्ड सर्भे टोलीको बैठक जनकपुरमा

    जनकपुरधाम । नेपाल-भारत सीमा दोस्रो फिल्ड सर्भे टोलीको बैठक जनकपुरधाममा सम्पन्न भएको छ। सीमानाकालाई व्यवस्थित तथा सीमा स्तम्भ मर्मतसम्भार एवं पुनः निर्माणबारे दुवै देशका उच्च अधिकारीहरूको सहभागितामा बैठक गरिएको हो। बैठकमा सीमावर्ती क्षेत्रमा उठ्ने गरेका समस्या समाधान, सीमा स्तम्भको संरक्षण तथा नयाँ स्तम्भ निर्माणलगायतका विषयमा छलफल भएको थियो।



    बैठकमा भारततर्फबाट बिहार राज्यका ईस्ट चम्पारण, वेस्ट चम्पारण, सुपौल, मधुबनी र सीतामढी जिल्लाका अधिकारीहरूको सहभागिता थियो। नेपालतर्फबाट धनुषा, महोत्तरी, पर्सा, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरूबीच छलफल भएको हो।

    बैठकमा यसअघि सम्पन्न पहिलो फिल्ड सर्भे टोली बैठकले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। विशेषगरी सीमाक्षेत्रमा नयाँ सीमा स्तम्भ निर्माण, पुराना तथा क्षतिग्रस्त स्तम्भहरूको भइरहेको मर्मत–सम्भार, हराएका वा अस्पष्ट बनेका पिलरहरूको पहिचान तथा सीमा सर्वेक्षणको प्रगति विषयमा छलफल भएको थियो। बैठकबाट जारी सीमास्तम्भको काम अहिले रोकेर वर्षायामपछि पुनः सञ्चालन गर्ने निर्णय पनि भएको जनाइएको छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बैठकले सीमा व्यवस्थापनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउन दुवै देश प्रतिबद्ध रहेको सन्देश दिएको जानकारी दिए। उनका अनुसार सीमा स्तम्भ निर्माण, मर्मतसम्भार तथा सीमा रेखाको संरक्षणका विषयमा दुवै पक्षबीच सकारात्मक सहमति बनेको छ।

    सीमावर्ती क्षेत्रमा देखिने विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीलाई समाधान गर्दै सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। आगामी दिनमा नेपाल र भारत सरकारबीच भएका संयुक्त निर्णय तथा सहमतिअनुसार साझा कार्ययोजना तयार गरी सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनलाई तीव्रता दिने समझदारी भएको उनको भनाइ छ।

    छलफलका क्रममा सीमा क्षेत्रमा देखिने प्राकृतिक तथा मानवीय कारणले उत्पन्न समस्याहरू, नदीको बहाव परिवर्तनका कारण सीमा स्तम्भमा पर्ने असर, सीमा क्षेत्रको नियमित अनुगमन तथा प्राविधिक सहकार्यका विषयहरू पनि उठान गरिएको थियो। सर्भे टोलीको पहिलो बैठक भारतको रक्सौलमा सम्पन्न भएको थियो।

    बैठकमा दुवै देशका जिल्ला सुरक्षा प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रतिनिधि, पूर्वाधारसम्बन्धी कार्यालयका अधिकारी, सीमा व्यवस्थापनसँग सम्बन्धित विभागीय प्रतिनिधिहरूको उपस्थिति थियो। प्राप्त जानकारीअनुसार महोत्तरीमा ७ वटा पिलरको मर्मत सम्भार तथा आवश्यक भएका नयाँ पनि सोही ठाउँमा सीमास्तम्भ निर्माण गरिएको छ। यसै गरी धनुषामा दुई वटाको मर्मत सम्भार र केही नयाँ निर्माण गरिएको छ।

    केही दिनअघि भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत र प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोलीको प्रतिवेदनको आधारमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट