काठमाण्डौ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनका धितोकर्तामाथि बैंकले अन्यायपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले बैंकले धितोमा राखिएको सुन फिर्ता गर्ने विषयमा पीडितहरूसँग कुनै परामर्श नगरी एकतर्फी र अन्यायपूर्ण निर्णय गरेको बताएका हुन् । बैंकले सुन लुटिँदाकै समयको मूल्यका आधारमा हिसाब गर्ने र ५ तोला धितो राखेका ग्राहकलाई २ तोला मात्रै सुन दिने निर्णय गरेको भन्दै उनले आपत्ति जनाए ।
‘बैंकको तर्फबाट एकतर्फी निर्णय भएको छ । त्यही बेलाको सुनको मूल्यअनुसार शोधभर्ना दिने र ५ तोला धितो राखिएको थियो भने २ तोला मात्रै सुन फिर्ता दिने भनिएको छ,’ सांसद राईले संसद्मा भने, ‘यो सरासर गलत र न्यायसंगत छैन ।’
सांसद राईले आफ्नै सम्पत्ति धितो राखेर ऋण लिएका सर्वसाधारण नागरिक अहिले पनि न्यायको पर्खाइमा छटपटाइरहेको उल्लेख गर्दै बैंकको उक्त निर्णय तत्काल पुनरावलोकन गर्न माग गरे । उनले पीडितहरूलाई वर्तमान बजार मूल्यअनुसार उचित क्षतिपूर्ति र पूर्ण न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद् भवन परिसरभित्रै रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड र लुटपाट भएको थियो । उक्त घटनामा बैंकको कडा सुरक्षा घेराभित्र रहेको सर्वसाधारणको १८ किलोग्राम सुन र करिब ३८ करोड रुपैयाँ नगद लुटिएको थियो ।
अर्थ चाैतारी ।