काठमाण्डौ । धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले घटेर २६०१ बिन्दुमा झरेको छ । बजारमा फर्किने अपेक्षा गरिए पनि बिक्री चापका कारण परिसूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
नेप्सेका अनुसार बिहीबार कुल ३६१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएकामध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
यस दिन व्यापारिक हिस्साका आधारमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको कुल ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस्तै, १०.७५ प्रतिशत एसबीएल डिभेन्चरको २८ करोड र ८.५ प्रतिशत बुक डिभेन्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्, जसको सेयर मूल्य १२.६८ प्रतिशतले घटेको छ । स्नो रिभर्सको सेयर मूल्य पनि ११.७६ प्रतिशतले ओरालो लागेको छ ।
अर्थ चाैतारी ।