logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

    नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

    377
    SHARES
    नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। नेपाल अहिले लगानीका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ छ।



    यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोजमा बोल्दै ढकालले नेपाल–यूएई सम्बन्धलाई श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन र संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए।

    पाँच दशकमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति र लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। आगामी सन् २०२७ मा नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भ जोड्दै उनले यो ऐतिहासिक अवसरलाई आर्थिक साझेदारी सुदृढ बनाउने माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

    नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बीआईए), दोहोरो कर मुक्ति सम्झौता (डीटीएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको र यी सम्झौता निकट भविष्यमै निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। यी सम्झौताले लगानीकर्ताको विश्वास बढाउनुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने उनको भनाइ थियो।

    नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, सहरी पूर्वाधार, कृषि र उत्पादनमूलक उद्योगका क्षेत्रमा उल्लेखनीय अवसर रहेको ढकालले औंल्याए। “नेपालसँग अपार सम्भावना छ र यूएईसँग विश्वस्तरीय अनुभव, प्रविधि तथा लगानी क्षमता छ,” उनले भने, “यी दुवै पक्षलाई जोडेर संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिन्छ, जसले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्नेछ।”

    आईएमई ग्रुपले बैंकिङ, विप्रेषण तथा डिजिटल भुक्तानी सेवामार्फत यूएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय होटल, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने प्रस्ताव गरे।

    महासङ्घको अध्यक्ष रहँदा कोप–२८ का अवसरमा दुबईमा नेपाल–यूएई व्यापार सम्मेलन आयोजना गरिएको र विश्व सरकार सम्मेलनमा दुई पटक सहभागिता जनाउने अवसर पाएको उल्लेख गर्दै उनले यूएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेरेको दाबी गरे। “नेपाल तयार छ, अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो,” ढकालले भने।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट