काठमाण्डौ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘The Goal is Green’ कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ ।
यस अभियानअन्तर्गत फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो । विश्वकप सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता पूरा गर्दै बैंकले प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने काम गरेको हो ।
सहकार्यअन्तर्गत WWF नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा WWF नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) सँग जोडेको हो । जसअनुसार काम्दी समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधता अनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ । WWF नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिक अनुकूल पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ ।
साझेदारीबारे लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकता र दीर्घकालीन मूल्य सिर्जनाको आधार भएको बताए । उनले विश्वकपमा भएका प्रत्येक गोल बराबर रूख रोप्ने प्रतिबद्धतामार्फत नेपालको वातावरणमा दीर्घकालीन योगदान पुग्ने र WWF नेपालको विशेषज्ञताले यसलाई अझ दिगो बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, WWF नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले वन पुनःस्थापना केवल रूख रोप्नु मात्र नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको छनोट र स्थानीय समुदायसँगको सहकार्य आवश्यक रहेको औंल्याए । काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यो सहकार्यले जैविक मार्ग (Corridor) पुनःस्थापना सम्बन्धी स्थानीय प्रयासलाई थप बल पुर्याउने भन्दै खुसी व्यक्त गरे ।
विश्वकै प्रतिष्ठित खेल प्रतियोगिताको उत्साहलाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोड्दै लक्ष्मी सनराइज बैंकले दिगोपन वित्तीय सेवामा मात्र सीमित नरही सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग पनि प्रत्यक्ष जोडिएको सन्देश दिएको छ ।
अर्थ चाैतारी ।