logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

    182
    SHARES
    आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो ।

    कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व विभागले रु ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आवमा रु एक अर्ब राजस्व भुक्तानी गरेको थियो ।

    खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्तःशुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्तःशुल्क हटेको, बढी अन्तःशुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसैगरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उनले जानकारी दिए । अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो । हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व सङ्कलनमा कमी भएको उनले बताए ।

    कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु ५६ करोड ५० लाख बक्यौता सङ्कलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने रु पाँच करोड ४१ लाखमात्र सङ्कलन भयो । यो १३ प्रतिशतमात्र हो । रु ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । रु २१ करोड ४५ लाख बेरुजु फर्छ्योट गरिएको उनले जानकारी दिए । कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् ।

    कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व सङ्कलनसँग सम्बन्धित काम गर्छन्।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट