काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नबिल बैंकले लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा सय शय्याको एडभानस इन्टरनेशनल मल्टिस्पेसियालिटी अस्पताल निर्माण तथा सञ्चालन गर्ने भएका छन्। यसका लागि दुई अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत गरी बिहीबार सहवित्तीयकरण सम्झौता भएको हो। उक्त अस्पताल निर्माणमा निफ्राले १ अर्ब ५४ करोड र नबिलले १ अर्बसम्म लगानी गर्नेछन्।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ्ग, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।
कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।