काठमाण्डौ । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सार्वजनिक गरेको छ। एक विशेष समारोहका बीच कम्पनीले उक्त स्वास्थ्य बीमा योजनाको औपचारिक सुरुवात गरेको हो।
यस बीमा योजनाअन्तर्गत व्यक्तिगत तथा पारिवारिक रूपमा २० लाख रुपैयाँसम्म स्वास्थ्य बीमा गर्न सकिने सुविधा उपलब्ध छ। हाल नेपालमा स्वास्थ्य बीमाका रकम सीमित रहँदा बढ्दो उपचार खर्चलाई दृष्टिगत गर्दै शिखरले ल्याएको यो योजना प्रभावकारी विकल्प बन्ने कम्पनीको दाबी छ।
बीमा सेवामा आवद्ध नेपालका प्रतिष्ठित अस्पतालहरूमा उपचार गराउँदा नगदरहित सेवा पाउने व्यवस्था गरिएको छ। अस्पतालमा भर्ना भई उपचार गर्दा बीमितले खर्च अग्रिम तिर्नु नपर्ने र शिखर इन्स्योरेन्सले अस्पताललाई सिधै भुक्तानी गर्ने प्रावधान छ। यसका साथै बाह्य उपचारमा पनि बीमा रकमको १० प्रतिशत (अधिकतम १ लाख रुपैयाँसम्म) दाबी गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
‘शिखर स्वास्थ्य सुरक्षा’ अन्तर्गत ३० दिनसम्मको प्री-हस्पिटलाइजेसन खर्च र ६० दिनसम्मको पोस्ट-हस्पिटलाइजेसन खर्च पनि बीमामा समावेश गरिएको छ। अस्पताल भर्ना नभई गर्ने १५० भन्दा बढी डे–केयर उपचारसमेत बीमाको दायरामा पर्दछन्। यस योजनामा नवजात शिशुको अस्पताल भर्ना उपचारसमेत समेटिएको छ।
यस योजनामा बीमितले दाबी नगरेको अवस्थामा बीमालेख नवीकरण गर्दा ‘नो–क्लेम बोनस’ समेत पाउने प्रावधान छ, जसले दीर्घकालीन रूपमा बीमितहरूलाई थप लाभ दिने अपेक्षा गरिएको छ।
यो बीमा सेवा नेपालमा बस्ने नेपाली नागरिकसँगै नेपालमा बस्ने विदेशी नागरिकले पनि लिन सक्ने व्यवस्था गरिएको छ।
अर्थ चौतारी ।