काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका धेरैजसो माग र एजेन्डाहरूलाई सम्बोधन गरेको बताएका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए। सो बजेटबारे प्रतिक्रिया दिँदै ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावका आधारमा धेरै कानुनी र नीतिगत व्यवस्थाहरू समेटिएकाले यसले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न ठूलो मद्दत पुग्ने बताए ।
ढकालका अनुसार निजी क्षेत्रकै सुझावमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार आयोगको सदस्यका रूपमा आफूले राखेका सुझावहरू र महासंघले अघि सारेका दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रमहरूलाई बजेटले उच्च प्राथमिकता दिएको धारणा राखे। विशेषगरी निजी क्षेत्रको गतिविधि बढाउन र व्यावसायिक वातावरण सहज बनाउन बजेटले गरेको कानुनी परिवर्तनका प्रयासहरू प्रशंसनीय रहेको उनको दाबी छ ।
‘बजेटका सकारात्मक पक्षहरूलाई केलाउँदै भन्सार दरका ११ वटा तहलाई घटाएर ४ तहमा झार्नु र ३४० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज हुनु निजी क्षेत्रका लागि ठूलो उपलब्धि हो । यसैगरी २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनुले स्वदेशी उद्योगहरूको उत्पादन लागत कम भई प्रतिस्पर्धात्मक क्षमता बढ्ने स्थिति बन्छ,’ ढकालले क्लिकमान्डुसँग भने, ‘कर प्रशासनमा सुधारका लागि ४ वर्षको फुल अडिट अवधिलाई ३ वर्षमा झार्नु र लामो समयदेखिको कर विवाद (ट्याक्स डिस्प्युट)लाई थप १ प्रतिशत थप शुल्क बुझाएर टुङ्ग्याउने व्यवस्था मिलाउनुले व्यवसायीहरूलाई ठूलो राहत पुग्नसक्ने देखिन्छ ।’
बजेटमा समेटिएका यी सुधारात्मक व्यवस्थाहरूलाई अब फास्ट ट्रयाकमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कार्यान्वयन पक्ष सही भएमा अर्थतन्त्रले पुनः गति लिने दाबी गरे।
उधारो असुली कानुन र ट्याक्स स्ल्याबमा गरिएका सुधारहरूले पनि व्यावसायिक क्षेत्रमा सकारात्मक सन्देश दिएको उनको ठम्याइ छ । आफूहरूले उठाएका एजेन्डाहरूलाई सरकारले अपनत्व ग्रहण गरेकोमा खुसी व्यक्त गर्दै ढकालले यस पटकको बजेटले निजी क्षेत्रलाई वास्तविक रूपमै आर्थिक विकासको साझेदारका रूपमा हेरेको बताए । उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावलाई बजेटको मूल आधार बनाइनु नै यो बजेटको सबैभन्दा सबल पक्ष रहेको जिकिर गरे ।
अर्थ चाैतारी ।