बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बीच पर्यटन प्रवर्द्धनका लागि औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले हस्ताक्षर गरेका छन्।
लुम्बिनी भ्रमणमा आउने भीभीआईपी पाहुनालाई लुम्बिनी केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराइने।
लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी तथा लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकार टिकटमा २० प्रतिशत छुट उपलब्ध गराइने।
सम्झौतापछि बोल्दै सदस्य–सचिव शाक्यले लुम्बिनी र बसन्तपुरबीचको सहकार्यले पर्यटकको बसाइ लम्ब्याउने र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे। उनले विशेषगरी श्रीलंका, म्यानमारलगायत बौद्धमार्गी राष्ट्रका ट्राभल एजेन्सीसँग सहकार्य गरेर बसन्तपुरमा विदेशी पर्यटक भित्र्याउन सकिने सुझाव पनि दिए।
लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले बसन्तपुर हिल स्टेशन ध्यान केन्द्रका लागि उपयुक्त भएकाले त्यहाँ ध्यान केन्द्र स्थापना गर्न सकिने बताए।
त्यस्तै, लुम्बिनी केबलकारका अपरेसन म्यानेजर कायस्थले यो सहकार्यले बसन्तपुर भ्रमणमा पर्यटक आगमन थप बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार बसन्तपुर हावापानी तराईभन्दा करिब १० डिग्री कम भएकाले भारतीय तथा अन्य तेस्रो मुलुकका बौद्धमार्गी पर्यटकलाई सजिलै आकर्षित गर्न सकिन्छ।
समुद्री सतहबाट करिब १,००० मिटर उचाइमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जिपलाइन, स्काइ साइक्लिङ, पिङलगायतका पर्यटकीय पूर्वाधार रहेका छन्।
अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको लुम्बिनी केबलकारमा हाल २५ वटा गोण्डुला छन्, जसले दैनिक ६ हजार यात्रुलाई आवतजावत गराउन सक्छ।
लुम्बिनी केबलकारले छिट्टै बसन्तपुरमा पाँचतारे होटल निर्माण गर्ने तयारी थालेको छ। सो होटलमा एक हजार जना क्षमताको बैंक्वेट हल, स्वीमिङ पुल, क्यासिनोलगायतका सुविधा रहने जनाइएको छ।
स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो। सम्झौताले बुद्ध जन्मस्थल लुम्बिनी र बसन्तपुरको पर्यटन प्रवर्द्धनसँगै आपसी सहकार्यलाई मजबुत बनाउने विश्वास गरिएको छ।
अर्थ चौतारी ।