logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • जीवन बीमामा राहतको संकेत : पोलिसी सरेण्डरदर घट्दा साढे दुई अर्ब मात्रै फिर्ता

    जीवन बीमामा राहतको संकेत : पोलिसी सरेण्डरदर घट्दा साढे दुई अर्ब मात्रै फिर्ता

    1.5K
    SHARES
    जीवन बीमामा राहतको संकेत : पोलिसी सरेण्डरदर घट्दा साढे दुई अर्ब मात्रै फिर्ता

    काठमाण्डौ । जीवन बीमा क्षेत्रमा पछिल्ला दुई महिनामा उत्साहजनक सुधारको संकेत देखिएको छ। बीमा पोलिसी सरेण्डरदर घट्दै जाँदा बीमालेख त्याग्ने संख्या र रकम दुबैमा कमी आएको छ।



     

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म जीवन बीमा कम्पनीहरूबाट सरेण्डरमार्फत जम्मा २ अर्ब ५० करोड ७ लाख रुपैयाँ मात्र फिर्ता भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले कम हो। गत वर्ष यस्तै अवधिमा २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम बीमालेख सरेण्डरमार्फत बाहिरिएको थियो।

     

    त्यस्तै, बीमालेख समर्पण गर्नेको संख्या पनि घटेको छ। गत वर्ष भदौ महिनासम्म १९ हजार ७४१ जनाले बीमा पोलिसी त्यागेका थिए भने यस वर्ष सो संख्या घटेर १५ हजार ८९८ मा सीमित भएको छ — झण्डै १९.५ प्रतिशतको कमी।

     

    तर, यसबीचमा व्यतित बीमालेख (नविकरण नगरिएका) रकम भने वृद्धि भएको छ। प्राधिकरणका अनुसार, गत वर्ष दुई महिनामा ३४ अर्ब ६७ करोड रुपैयाँ नविकरण नगरिएको थियो भने यस वर्ष सो रकम बढेर ३६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ — ५.०७ प्रतिशतले वृद्धि। यस्तै, व्यतित बीमालेख संख्या पनि ११ लाख ८० हजारबाट बढेर १२ लाख १३ हजार ५६२ पुगेको छ।

     

    विश्लेषकका अनुसार, सरेण्डरदर घट्नु बीमा क्षेत्रको विश्वसनीयता र स्थायित्वतर्फको सकारात्मक संकेत हो। पछिल्लो समय बीमा कम्पनी, अभिकर्ता र नियामक निकायबीचको समन्वय र जनचेतना अभियानले बीमितमा विश्वास जगाएको देखिन्छ।

     

    अघिल्ला महिनामा देशको राजनीतिक अस्थिरता र सहकारी संकटले हजारौं नागरिकले जीवन बीमा पोलिसीसमेत सरेण्डर गर्न थालेका थिए। तर हालका सक्रियताले त्यो डर कम भएको छ।

     

    बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार, अहिलेको सुधारलाई स्थायी बनाउन बीमा कम्पनीहरूले ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रिया र सूचना पारदर्शिता अझ मजबुत गर्नुपर्नेछ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट