काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४० अंकले घट्दै २,४८७ विन्दुमा स्थिर भएको हो।
आज ४५ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ। कुल ३११ कम्पनीका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकको शेयरमा भएको छ — यस बैंकको १५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख र शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।
आजको बजारमा सबैभन्दा बढी हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले नाफा कमाएका छन्। त्यसैगरी कालिका लघुवित्तका लगानीकर्ताले ५.६९ प्रतिशत र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले कमाएका छन्।
उता, समाज लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् — उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
अर्थ चौतारी ।