काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले शेरचन पक्राउ परेको पुष्टि गरेका छन्।
सीआईबीले पछिल्लो समय प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट मार्फत गैरकानुनी कारोबार, शंकास्पद रकम प्रवेश, रेमिटमार्फत हिनामिना लगायतका गतिविधिबारे छानबिन गरिरहेको छ। यसअघि नै प्रभु ग्रुपका सञ्चालक तथा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेन्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजु पक्राउ परिसकेका थिए।
ठाकुरप्रसाद मानन्धर लगायतले दिएको उजुरीपछि सीआईबीले कुसुम लामा, भट्टचनसहितमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसारका कसुरमा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।
अनुसन्धान क्रममा प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा ९ लाख ९९ हजार ५ सय रुपैयाँका दरले पटक–पटक शंकास्पद रकम जम्मा भएको फेला परेको छ।
सीआईबीका अनुसार रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपाल भित्रिएको रकम हुण्डीमार्फत प्राप्त गरी सहकारी संस्थामार्फत भुक्तानी मिलाइएको देखिन्छ।
सन् २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्सफरबीच भएको करारपछि देशभरका सहकारी संस्थाहरूलाई सब–एजेण्ट बनाइएकामा, ती सहकारीहरूले रकम भुक्तानी गरे पनि उनीहरूले सोधभर्ना नपाएको आरोप दर्ता भएको छ।
देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट उजुरी परेपछि अनुसन्धान तीव्र पारिएको छ।
अर्थ चौतारी ।