काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक सदस्य देवकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा उजुरी दर्ता भएको छ । चेक बाउन्स लगायतका बैंकिङ कसुरका कारण कालोसूचीमा परेको भन्दै उनलाई कानुन बमोजिम तत्काल पदबाट हटाउन माग गरिएको हो।
निवेदक लक्ष्मी तिम्सिनाले सोमबार प्राधिकरणमा उक्त उजुरी दर्ता गराएकी हुन् । श्रेष्ठलाई चेक बाउन्सको आरोपमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । कालोसूचीमा रहेको व्यक्ति सहकारी संस्था तथा सङ्घहरूको सञ्चालक तथा सदस्य हुन नसक्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।
उजुरीमा प्राधिकरणले जेठ ९ गते जारी गरिएको ‘सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ मा कुनै पनि सहकारीको सञ्चालक कालोसूचीमा परेमा वा निज र निजको परिवारका सदस्यले लिएको ऋण खराब वर्गमा वर्गीकृत भएमा त्यस्तो सञ्चालक स्वतः पदमुक्त हुने प्रावधान राखेको भन्दै उनलाई पदमुक्त गर्न माग गरिएको छ ।
सहकारी विभाग, राष्ट्रिय सहकारी महासङ्घ र नेफ्स्कुन केन्द्रीय कार्यालय बोधार्थ दिएर पठाएको पत्रमा मापदण्डको व्यवस्था स्वतः लागू हुने प्रकृतिको भएको हुँदा श्रेष्ठ अब नेफ्स्कुनको सञ्चालक पदमा रहन कानुनी रूपमा अयोग्य भइसकेको दाबी गरिएको छ ।
_aFu3oGtpLF.jpg)
अर्थ चौतारी ।