काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको ‘केएसबिबिएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड आज सम्पन्न भएको छ। बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा उक्त सेयर बाँडफाँड गरिएको हो।
बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन गरेकोमा लगानीकर्ताहरूबाट उत्साहजनक सहभागिता रहेको जनाइएको छ। निष्कासन गरिएको रकमभन्दा १.९ गुणा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यस प्रकारको उत्साहजनक सहभागिताले नेपाली पुँजी बजार र वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास तथा आकर्षण रहेको बैंकको ठहर छ।
बैंकले परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरूका लागि गत माघ १२ गतेदेखि १५ गतेसम्म यो सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। वार्षिक ९ प्रतिशत लाभांश दर रहेको अविमोच्य तथा असञ्चिति प्रकृतिको यस्तो अग्राधिकार सेयर विकास बैंकहरूको इतिहासमा पहिलो पटक जारी गरिएको हो।
अर्थ चाैतारी ।